नेताहरुको हात्तीवन वार्ता विफल

  • 6 नोभेम्बर 2010
अर्थ मन्त्रालय
Image caption कार्त्तिकभित्र बजेट नल्याइए देश आर्थिक भड्खालोमा पर्ने अधिकारीहरुको चेतावनी छ।

बजेट लगायतका राजनीतिक गाँठो फुकाउनको निम्ति भनेर राजधानीको दक्षिणी भेगमा रहेको दक्षिणकाली नजिकैको हात्तीवन रिसोर्टमा गरिएको दुई दिने छलफल विफल भएको छ।

छलफलमा सहभागी नेताहरुले तिहार लगत्तै कार्त्तिक २४ गते उसैगरि मन्थन गर्ने वाचा दोहोर्‍याएका छन्।

सो विफलतापछि बजेट थप अन्योलमा परेको छ।

रित्तो हात

नयाँ सरकार, नयाँ संविधान र नयाँ बजेटको निम्ति निकास खोज्न भनेर राजधानी बाहिर पोको पन्तरो कसेर लागेका नेताहरु शनिबार रित्तो हात फर्किए।

माइक्रो बस रिजर्भ गरेर निजी सहायकहरु समेत नलिकन एकान्तबासमा पुगेका नेताहरुलाई त्यहाँपनि पुराना अडान र वाधाहरु पन्छाउने साइत जुरेन।

तैपनि छलफलमा भाग लिएर राजधानी फर्किए लगत्तै बीबीसीसंगको कुराकानीमा माओवादीका उपाध्यक्ष मोहन वैद्य किरण आशावादी सुनिएका थिए।

“अलि आशावादी हुने त छँदैछ। ठोस निश्कर्ष त केही निकाल्न सकिएन तर सबै विवादित विषयहरु समग्र प्याकेजमै हल गरिनु पर्छ भन्नेमा सबै एकमत भए। अझै अलि छलफल पुगेन,” उनको भनाई थियो।

मन माझामाझ

सञ्चारकर्मीहरुलाई टाढा राखेर दुई दिनसम्म चलेको छलफलले नेताहरुलाई मन माझामाझ गर्ने मौका दिएको ठानिएको थियो।

ठोस परिणाम आउन नसकेपनि विवादित कुराहरुमा वाधा अड्चनपनि धेरै नभएको सो छलफलमा सहभागी एमाले महासचिव ईश्वर पोखरेलको भनाई थियो।

“अड्किएको भनेर ठ्याक्कै त्यस्तो कुनै बुँदा थिएन। विगतभन्दा निकै खुलस्त ढंगले कुराकानी भए। अब कार्त्तिक २४ गते निश्कर्ष निकाल्ने आशा छ,” पोखरेलले भने।

कार्त्तिक महिनाभित्रै बजेट आउन नसके ठूलै दुर्घटना हुन सक्ने बताइएको बेला उक्त समस्या अन्य मुद्दासंगै टुंग्याइने संकेत शीर्ष नेताहरुले दिएका छन्।

“सहमति भयो भने अड्किएका सबै विषयहरुले निकास पाउँछन्। यदि दुर्भाग्यवश त्यस्तो सहमति बन्न नसके बजेटको सवालमा सरकारले जरुर कुनै निर्णय लिनुपर्छ,” पोखरेलले बताए।

यदि कार्त्तिक २४ गते बस्ने भनिएको अर्को निर्णायक वार्ता सफल नभए एमाले महासचिव पोखरेलले भनेजस्तो दुर्भाग्यपूर्ण स्थिति संघारमै आउनेछ।

त्यतिखेर सरकारले एकलौटि निर्णय गर्ने स्थिति आएमा समग्र सहमतिको वातावरण फेरि विथोलिने खतरा टड्कारो छ।