हिउँदमा दैनिक कम्तीमा १४ घण्टा लोड शेडिंग हुने

  • 7 नोभेम्बर 2010
त्रिशुली नदी
Image caption हिउँदमा नदीनाला सुकेपछि बिजुली उत्पादन ह्वात्तै घट्ने अधिकारीहरु बताउँछन्

यसपालीको हिउँदमा कम्तीमा दिनहुँ १४ घण्टा लोडशेडिंग हुने लगभग पक्का भएको नेपाल विद्युत प्राधिकरणका अधिकारीहरुले जनाएका छन्।

गएको वर्ष सवा लाख बढि नयाँ ग्राहक थपिएका थिए।

तर बिजुली भने दुई, चार मेगावाटभन्दा बढि थपिएन।

तिहारपछि अन्धकार

अहिले साताको १२ घण्टाको लोड शेडिंगबाट अब तिहारको केही दिनपछिनै दैनिक चार, पाँच घण्टा बिजुली नआउने अधिकारीहरुले बताएका छन्।

“हाम्रो उत्पादन क्षमतामा कुनै ठूलो आयोजना थपिएको छैन। यसपालीको हिउँदमा कम्तीमा १४ घण्टा लोड शेडिंग हुने छाँटकाँट छ,” नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक जीवेन्द्र झाले बताए।

मंसिर लागेपछि चर्किने लोड शेडिंग फागुन, चैत महिनामा उत्कर्षमा पुग्ने बताइन्छ।

त्यसको कारण चाहीं मागको अनुपातमा निकै कम रहेको आपूर्तिनै भएको अधिकारीहरु बताउँछन्।

सबैभन्दा धेरै माग हुने हिउँदमा झण्डै ९०० मेगावाटको बिजुली चाहिन्छ।

आपूर्ति त्यसको एक तिहाई अर्थात ३०० मेगावाटको हाराहारीमा मात्र हुन्छ।

त्यो पनि भारतबाट समेत बिजुली किनेर।

‘सिन्को भाँचिएन’

गएको तीन वर्षदेखि देशले अत्यन्त पीडादायी लोड शेडिंग बेहोरिरहेको छ।

यही बेला विभिन्न दलका विभिन्न सरकारहरुले १० हजार र २५ हजार मेगावाट बिजुली उत्पादन गर्ने ठूला योजनाहरु बनाउने कुरा गरे।

तर सिन्कोपनि भाँचेनन्।

यो अवस्था कहिले सम्म त?

झाको जवाफ छ, “सार्वजनिक क्षेत्रका आयोजनाहरु चमेलिया र कुलेखानी-तेस्रो आउन दुई वर्ष लाग्छ। तर ती केवल ४४ मेगावाटका हुन्। लोड शेडिंग अर्थपूर्ण रुपमा घटाउन त माथिल्लो तामाकोशी आउनुपर्छ जसलाई अझै कम्तीमा पाँच वर्ष लाग्छ।”

त्यो भन्दा अगाडि लोड शेडिंग कम गर्ने उपाय भनेको चाहीं भारतबाट मनग्गे बिजुली किन्ने नै हो।

जसको निम्ति आवश्यक पर्ने प्रसारण लाइन बनाउने तयारी भइरहेको छ।

निर्देशक झाका अनुसार ढल्केबर-मुजफ्फरपुरको ४०० केभी क्षमताको प्रसारण लाइन बनाउने सम्झौता आउने जनवरीमा हुन सक्छ।

उक्त सम्झौता भएमा त्यसको तीस महिनापछि प्रसारण लाइन तयार हुन सक्छ।

तर सानातिना आयोजनाहरुले त विभिन्न वाधा अवरोध झेल्नुपरेको बेला ठूला बिजुली आयोजना वा प्रसारण लाइन बन्ने कुरा बीरबलको खिचडि सरह हुनेमा धेरैलाई डर छ।