गोप्य पत्रको जवाफ अझै आएन: भारत

  • 8 नोभेम्बर 2010
भारतको आन्ध्रप्रदेशका माओवादी
Image caption भारतीय माओवादीलाई नेपालमा तालिम दिइएको भन्ने आरोप भारतको छ

नेपालका माओवादीले भारतीय माओवादीलाई सैन्य र वैचारिक तालिम दिएको उल्लेख गर्दै भारतले नेपाल सरकारलाई गोप्य पत्र पठाएको दुई साता वितिसक्दा पनि नेपालले त्यसबारे अहिलेसम्म जवाफ नदिएको भारतीय राजदूतावासले बताएको छ।

चाड पर्व सकिने वित्तिक्कै त्यसबारे नेपालले जवाफ दिने आशा भारतीय पक्षको छ।

नेपाल सरकारले भने त्यसबारे छानविनपछि मात्र जवाफ दिन सकिने बताएको छ।

हालैका महिनामा नेपालका विभिन्न स्थानमा एकीकृत माओवादीले भारतीय माओवादी कार्यकर्ताहरुलाई सैन्य तथा वैचारिक तालिम दिएको उल्लेख गर्दै भारतीय राजदूतावासले गएको कार्तिक ८ गते परराष्ट्र र गृह मन्त्रालयलाई एउटा गोप्य पत्र पठाएको थियो।

‘कारवाही’

नेपाली र भारतीय सञ्चार माध्यमहरुमा प्रमुखताका साथ प्रकाशित र प्रसारित सो पत्राचारबारेका समाचारहरुमा भारतीय दूतावासले भारतीय माओवादीलाई तालिम दिने एकीकृत माओवादीका वरिष्ठ नेताहरुको नामै किटेर उनीहरुलाई कारवाही गर्न माग गरिएको थियो।

भारतीय दूतावासका प्रवक्ता अपूर्व श्रीवास्तवका अनुसार त्यस पत्राचारका सम्वन्धमा नेपाल सरकारले अझै जवाफ दिएको छैन।

“हाम्रो पत्रको अहिलेसम्म कुनै लिखित जवाफ आएको छैन, चाडपर्वको बेला भएकोले होला।”

हेरौं, केही दिन पर्खौं।”

दूतावासको गोप्य पत्रमा भारतीय माओवादीलाई दाङ, बुटवल, सैनामैना माओवादी शिविरलगायतका स्थानहरुमा नेपाली माओवादीले तालिम दिएको उल्लेख गरिएको समाचारहरुमा जनाइएको थियो।

‘छानविन’

सरकारका प्रवक्ता एवं सूचना तथा संचारमन्त्री शंकर पोखरेलले भारतले आफ्नो गोप्य पत्रमा उल्लेख गरेजस्तो नेपाली माओवादीले भारतीय माओवादीलाई तालिम दिएकोबारे सरकारलाई जानकारी नभएको बताए।

“पत्रको जवाफ परराष्ट्र मन्त्रालयले देला तर हामीलाई अहिलेसम्म त्यसको जानकारी छैन।”

उनले पत्रबारे सरकारले छानविन गरेर जवाफ दिने बताए।

विभिन्न भारतीय र नेपाली सञ्चार माध्यमहरुमा जनाइए अनुसार सो पत्रमा पाकिस्तानस्थित विद्रोही समुह लश्कर-ए-तोएवाका प्रतिनिधि समेत नेपाल आएर नेपाली भूमीमा भारतीय माओवादीलाई विष्फोटक पदार्थ र हातहतियार चलाउनेबारे तालिम दिएको व्यहोरा उल्लेख छ।

‘गलत’

एकीकृत माओवादीका नेताहरुले सो पत्रमा उल्लेख गरिएको भनिएका समाचार सोह्रै आना गलत भएको प्रतिक्रिया दिएका थिए।

एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चीन भ्रमणमा गएर चीन-नेपाल-भारतबीच त्रिदेशीय रणनीतिक समझदारी हुनु पर्ने, र आफ्नो दल र भारतबीचको सम्बन्ध सुधार गर्न आफू छिट्टै भारत जाने खुलासा गरे लगत्तै सो समाचार बाहिर आएको थियो।

सो समाचार बाहिर आउनु भन्दा केहि दिनअघि मात्रै एकीकृत माओवादीका कार्यकर्ता भनिएका व्यक्तीहरुले सोलुखुम्बुमा भारतीय राजदूत राकेश सुदलाई जुत्ता प्रहार गरेका थिए।

सो कदमको भारतीय दूतावास र नेपालस्थित कुटनीतिक सञ्जालले कडा विरोध गरेको थिए।