बजेट ल्याउन सरकारलाई दलहरुको समर्थन

  • 13 नोभेम्बर 2010
अर्थ मन्त्रालय
Image caption यसपाली नीति तथा कार्यक्रम विना बजेट ल्याउने सरकारले तयारी गरेको छ

गएको दुई सातामा भएका दुईवटा शीर्ष वार्ताले कुनै उपलब्धि नदिएपछि सरकार समर्थक दलहरुले बजेट ल्याउने सरकारको तयारीप्रति समर्थन जनाएका छन्।

सरकारले मंसिरको ३ गते संसदमार्फतनै बजेट ल्याउने तयारी गरिरहेको छ।

प्रतिपक्षी माओवादीले भने कामचलाउ सरकारले बजेट ल्याए आफुले विरोध गर्ने जनाएको छ।

राहत

खासगरि अर्थविद एवं व्यवसायीहरुबाट बजेट विना अर्थतन्त्र संकटको भूमरीमा पर्ने चेतावनी आएका थिए।

चर्को दबाबमा परेका प्रधानमन्त्री माधवकुमार नेपाललाई सरकार समर्थक दलहरुले भने राहत दिलाएका छन्।

उनले शनिबार डाकेको छलफलमा सबैले समयमै बजेट ल्याउन उनलाई सुझाव दिए।

“मुलुकको आर्थिक अवस्था धराशायी हुन नदिन, सबै दलहरुले बजेट ल्याउनुपर्छ भन्ने सुझाव दिए। मंसिर ३ गतेभित्र अब बजेट आउँछ,” छलफलमा उपस्थित कानुन मन्त्री प्रेमबहादुर सिंहले बताए।

नियमित प्रक्रिया

कानुन मन्त्रीका अनुसार नियमित सरहनै संसदीय प्रक्रिया अपनाएर उक्त बजेट ल्याइनेछ।

असार मसान्तमा आउनुपर्ने बजेट मंसिरमा आउन लागेपनि सामान्यतया बजेटभन्दा अगाडि नै आउने गरेको सरकारको नीति तथा कार्यक्रम भने यसपाली आउने छैन।

कामचलाउ सरकारले बजेट ल्याउन नमिल्ने अडान राखिरहेको माओवादीलाई भने सरकारको तयारीले थप चिढ्याएको छ।

पहिला सरकार गठन गरे बजेटबारे आफ्नो कुनै गुनासो नरहने माओवादी प्रवक्ता दिनानाथ शर्माले बताए।

“राजनीतिक दल तथा सरकारको हर्कतको विरोध गर्छौं। बजेटबारे हाम्रो असहमति त हैन, तर पहिले सरकार बन्नुपर्नेमा हाम्रो जोड हो।”

सरकारले सदनमा बजेट प्रस्तुत गरे अवरोध हुन्छ कि हुँदैन भन्ने प्रश्नको जवाफमा त्यसबारे पार्टिले छलफल गर्न बाँकि रहेको शर्माले बताए।

ढुक्क

तर सरकार चाहिं बजेट ल्याउने प्रक्रियामा माओवादीले सहयोग गर्ने कुरामा ढुक्क देखिन्छ।

“यो देशकै आर्थिक स्थितिको कुरा भएकोले माओवादीले असहयोग गर्ने स्थिति रहँदैन,” मन्त्री सिंहले भने।

तर कतिपय विश्लेषकहरुले सोमबारको शीर्ष नेताहरुको वार्ता अगाडि नै सरकारले बजेटबारे गरेको तयारीले, सरकार र प्रतिपक्षीबीचको तिक्तता थप बढ्ने अनुमान गरेका छन्।

राजनीतिक तिक्तता बढेपनि, अत्यासलाग्दो ढंगले बढेको आर्थिक अनिश्चयलाई भने बजेटले केही कम पार्न सक्ने ठानिएको छ।

सम्बन्धित समाचार