विरोधका बीच बजेट प्रस्तुत हुने

  • 19 नोभेम्बर 2010
नेपाली मुद्रा
Image caption चार महिना ढिलो भइसकेको बजेट राजनीतिक अन्योलका कारण अनिश्चयमा परेको हो

बजेट ल्याउने प्रक्रियाप्रति असन्तुष्टी जनाउँदै माओवादीले बजेट ल्याउन नदिने अडान लिएपछि शुक्रबार बेलुकि सकिएको मन्त्रीपरिषद बैठकले बजेट पेश गर्ने निर्णय गरेको हो।

विना विभागीय मन्त्री लक्ष्मणलाल कर्णले बीबीसीलाई बताए अनुसार सरकारले संविधानको धारा ९३ बमोजिम बजेट ल्याउनेछ।

माओवादीले चाहीं बजेट ल्याउने सरकारको तयारीमा अवरोध पुर्‍याउन संसदको रोष्ट्रम घेरेको छ।

विवाद

राष्ट्रपतिबाट वाधा अड्काउ फुकाउ गरेर एकैदिनमा संविधान संशोधनमार्फत बजेट ल्याउने सरकारी तयारीप्रति माओवादीले विरोध जनाएपछि बजेटको प्रस्तुती अनिश्चयमा परेको थियो।

साथै कामचलाउ प्रकारको हुनुपर्नेमा पूर्ण किसिमको बजेट ल्याउन सरकारले खोजेको भन्दै माओवादीले कडा विरोध जनाएको छ।

“पहिलो कुरो त सरकारले पूर्ण प्रकारकै बजेट ल्याउने तयारी गरेको हामीलाई आपत्तिजनक छ। साथै बाधा अड्काउ फुकाउने सिलसिलामा भएका प्रक्रियाको साटो नियमित प्रक्रियाबाट संविधान संशोधन गर्नुपर्ने हाम्रो जिकिर हो,” माओवादी नेता पोष्टबहादुर बोगटि दिवाकरले बताए।

शुक्रबार दिउँसोसम्म पनि बजेट समयमै आउने पक्कापक्की जस्तै थियो।

तर संसदको कार्यसूची तय गर्ने कार्यव्यवस्था समितिको बैठक नबस्दै माओवादीले आफ्ना आपत्ति राखेपछि स्थितिले अचानक कोल्टे फेर्‍यो।

निकै आशाका साथ हेरिएको बजेट ल्याउने प्रक्रियाबारे यसअघि सहमति दिइसकेपनि माओवादीले कुरा फेरेको अन्य दलको बुझाइ छ।

एमालेका प्रमुख सचेतक भीम आचार्यले भने, “यसबारे पहिले सहमति भएपनि माओवादीले अहिले विरोध गरेको छ।”

विरोध

माओवादीले गरेको विरोधको अर्को पक्षचाहीं सरकार विरुद्ध केन्द्रित रहेको थियो।

आफुले केवल कामचलाउ बजेट ल्याउन मात्र सहमति दिएको उसको तर्क छ।

बाँकि अवधिको दुई तिहाई खर्च धान्नेमात्र नभई नयाँ कार्यक्रमसहितको बजेट ल्याउन खोजेको भन्दै उसले सरकारको विरोध गरेको छ।

तर सरकारले भने उक्त आपत्तिको खण्डन गरेको छ।

अर्थ मन्त्रालयका वरिष्ठ अधिकारीहरुका अनुसार बजेटको कार्यक्रमहरुलाई माओवादी नेता तथा पूर्व अर्थमन्त्री डा बाबुराम भट्टराई समेत सम्मिलित कार्यदलले स्वीकृति दिइसकेको थियो।

यस्तो अवस्थामा आपत्ति गरिनु केवल खोंचे थाप्ने प्रयास भएको उनीहरुको भनाई छ।

जे होस् राजनीति देखि अर्थतन्त्र सम्मका कुराहरुमा नयाँ नयाँ बखेडा निस्किने क्रमको भने यो निरन्तरतानै हो।

सम्बन्धित समाचार