सहमति गरी तत्काल अधिवेशन डाक्न सभामुखको जोड

  • 24 नोभेम्बर 2010
सभामुख नेम्वाङ
Image caption संसदमा दह्रो भूमिका निर्वाह गर्न नसकेको भनी धेरैले सभामुखको आलोचना गरेका छन्

एक हप्ता अघि संसदको अधिवेशन हठात् अन्त्य गरिएपछि चर्को आलोचनाको घेरामा परेका सभामुख सुवास नेम्वाङले राष्ट्रपति रामवरण यादवसंग छलफल गरेका छन्।

अधिवेशन अन्त्य गरिने अवस्था आउन नदिन सक्रिय हुन नसकेको भनी आलोचित सभामुखले अन्यौलमा परेको अर्को अधिवेशन छिट्टै डाक्ने विषयमा राष्ट्रपतिसंग कुराकानी गरेको बताए।

उनले अधिवेशन डाक्न तत्काल दलीय सहमतिमा जोड दिएको बताए।

आशा

यो कुरामा आफू आशावादी भएको उनको भनाइ थियो।

उनले भने, “संसदको अधिवेशन बोलाउन सबै लागेर अहिले देखिएको जवाफदेही विहीनता र सरकार विहीनताको स्थितिको अन्त्य र अध्यादेशबाट ल्याइएको बजेटको अनुमोदन गर्नु पर्छ।“

संसदमा बजेट पेस गर्न लाग्दा अर्थमन्त्रीमाथि गरिएको माओवादी हातपात पछि सरकारले राष्ट्रपतिलाई सिफारिस गरी अधिवेशनको अन्त्य गर्ने र अध्यादेशबाट बजेट ल्याउने बाटो रोजेको थियो।

तर यो बाटोको यात्रामा थुप्रै अड्चनहरु आउने विज्ञहरुको भनाइ छ।

यी घटनाक्रमहरुमा सभामुखले मौन दर्शकको भूमिका खेलेको भनी धेरैले आलोचना गरेका छन्।

तर नेम्वाङले आफ्नो बचाउ गरे।

उनले भने, “मंसिर ३ गते अझ नराम्रो घटना हुन सक्थ्यो, तर बैठक तुरुन्त समाप्त गरिएकाले त्यसो हुन पाएन।“

नयाँ सरकार बनिनसकेकाले कामचलाउ सरकारको सिफारिसमा अन्त्य गरिएको अधिवेशन पनि अब कामचलाउ सरकारलेनै आह्वान गर्नु पर्ने हुन्छ।

शंका

अधिवेशन नडाकिएसम्म बजेट अध्यादेश अनुमोदन हुन सक्दैन भने अहिले अन्यौलमा परेको प्रधानमन्त्रीको चुनावी प्रक्रिया पनि अगाडि बढ्न सक्दैन।

तर विश्लेषकहरु भन्छन्, निकट भविष्यमा संसदको अधिवेशन डाक्न दलहरुबीच सहमतिका निम्ति सभामुखले जोड दिएपनि त्यस्तो संभावना ज्यादै कम छ।

कमजोर सभामुख भनी चौतर्फी आलोचनाको घेरामा परेका नेम्वाङको पहलले तत्काल नतीजा दिने कुरामा उनीहरुले शंका व्यक्त गरेका छन्।