शान्ति र संविधान नयाँ कार्यदिशा: प्रचण्ड

  • 26 नोभेम्बर 2010
माओवादी नेताहरु
Image caption विस्तारित बैठकले नसुल्झाए विवादित मुद्दाहरु महाधिवेशनमा लगिने बताइएको छ

एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शान्ति प्रकृया र नयाँ संविधान लेखनमा लाग्ने लक्ष्य सहितको नयाँ प्रस्ताव पार्टीको विस्तारित बैठकमा शुक्रबार पेश गरेका छन्।

बैठकमा आएका सुझावहरुलाई समेटेर तयार पारिएको भनिएको उक्त प्रस्तावमा उनले प्रमुख अन्तरविरोध घुलमिल गरेर आएको भारत र प्रतिकृयावादसँग रहने उल्लेख गरेका छन्।

तर यो नै साझा वा अन्तिम प्रतिवेदन होइन।

विद्रोह ‘वाध्यता’

उपाध्यक्षहरु मोहन वैद्य किरण र डा बाबुराम भट्टराईले शुक्रबार अन्तिम स्पष्टिकरण दिएपछि प्रचण्डले शनिबार संयुक्त प्रतिवेदन तयार गर्ने तय गरिएको पूर्व निर्धारित कार्यक्रम अचानक परिवर्तन गरियो।

प्रचण्डले शुक्रबारै नयाँ प्रतिवेदन पेश गरे।

त्यसमा प्रचण्डले अबको बाटो के पहिल्याए भन्ने धेरैले चासोको विषय थियो।

त्यसबारे प्रवक्ता दीनानाथ शर्माले भने, “तात्कालिक कार्यदिशा शान्ति र संविधान छ। संविधान नबनेसम्म त्यही कार्यदिशा रहन्छ। संविधान बनेन भने विद्रोह गर्नुपर्ने नेपाली जनताको वाध्यता छ।”

कम्युनिष्ट पार्टीले तत्कालीन लक्ष्य प्राप्तिको मुख्य वाधक संज्ञा दिने प्रमुख अन्तरविरोध माओवादीले कसलाई ठम्यायो भन्ने बैठकको अर्को चासो थियो।

प्रचण्डले अघिल्लो प्रतिवेदनमा जस्तै भारत र देशभित्रकै शक्तिको मिश्रणलाई मुख्य निशाना बनाएको संकेत शर्माले दिए।

“प्रधान अन्तरविरोधको सन्दर्भमा पहिलेको प्रतिवेदनको भावना नै यसमा समेटिएको छ,” उनले भने।

‘हल्का’ हेरफेर

प्रतिवेदनबारे सार्वजनिक भएको प्रारम्भिक विवरणको आधारमा कतिपयले दुइजना उपाध्यक्षबीचको मतभेदलाई मिश्रण गरिएको आफ्नो पुरानै प्रतिवेदनमा प्रचण्डले हल्का हेरफेर गरेको टिप्पणी गरेका छन्।

नयाँ प्रतिवेदनबारे शनिबार दुबै उपाध्यक्ष किरण र भट्टराईले टिप्पणी गरेपछि साझा प्रतिवेदन तयार गर्ने भनिएको छ।

तर प्रचण्डको पछिल्लो प्रस्तावमा दुवै उपाध्यक्ष सन्तुष्ट हुने सम्भावना नरहेको बुझिएको छ।

त्यसो भएमा विवादित विषयहरु महाधिवेशन वा राष्ट्रिय सम्मेलनको मुद्दा बन्ने छन्।

सम्बन्धित समाचार