संविधान नबने जनविद्रोहमा जाने माओवादी निर्णय

  • 27 नोभेम्बर 2010
पालुङ्गटार बैठकमा माओवादी नेताहरु
Image caption विस्तारित बैठकपछि माओवादीका कार्यकर्ताहरु स्पष्ट तीन खेमामा बाँडिएको देखिएका छन्

शान्ति प्रक्रिया र नयाँ संविधान बन्ने बाटो अवरुद्ध भए जनविद्रोहमा जाने गोरखा जिल्लाको पालुङ्गटारमा शनिबार सकिएको विस्तारित बैठकपछि माओवादी नेताहरुले बताएका छन्।

तर केन्द्रिय समितिले टुंग्याउन नसकेका विवादका अन्य मुख्य मुद्दाहरु टुंगो लगाउन नसकेपछि डाकिएको बिस्तारित बैठकले त्यसको हल खोज्ने जिम्मा केन्द्रिय समितिलाई नै फर्काइ दिएको छ।

संघर्ष

सात दिन चलेको विस्तारित बैठकको निर्णय सार्वजनिक गर्न शनिबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले आफ्नो प्रतिवेदनलाई चुनौती दिएका दुईजना उपाध्यक्ष लगायतका अन्य नेताहरुलाई पनि सँगै राखेका थिए।

बैठकले पार्टी एकतावद्ध गराएको दावी गर्दै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शान्ति र संविधानको निम्ति आन्दोलन गर्ने निर्णय सुनाए।

“हामीले शान्ति र संविधानको निम्ति संघर्ष गर्ने हो। शान्ति र संविधानको विरुद्ध षडयन्त्र भयो भने विद्रोह गर्ने हो। एकदम सीधा कुरा छ। शान्ति र संविधान निर्माण गर्न अन्तिम समयसम्म प्रयास गर्नुपर्छ भन्ने कुरामा हामीबीच कसैको विमति छैन,” प्रचण्डले भने।

अध्यक्ष प्रचण्डले उपाध्यक्षद्वयको प्रतिवेदन र बैठकको भावना समेटेर शुक्रबार एउटा प्रतिवेदन पेश गरेका थिए।

सहमति नभएकाले त्यो पारित गर्न सम्भव भएन।

आफ्नो प्रतिवेदन पारित गराउन पहिलो पटक विफल भएको भन्ने पत्रकारको टिप्पणीको प्रचण्डले प्रतिवाद गरे।

“त्यो सही होइन। अध्यक्षले मात्र जित्यो वा उपाध्यक्षले जित्यो भन्ने तरिकाबाट हामी जान चाहेनौं। हामीले त अध्यक्ष, उपाध्यक्ष र सिंगै देशैले जित्ने तरिका अपनायौं,” उनले भने।

आक्रोश

प्रचण्डले शुक्रबार पेश गरेको नयाँ प्रतिवेदनबारे टिप्पणी गर्दै शनिबारको बन्द सत्रमा पनि उपाध्यक्ष मोहन वैद्य किरण अध्यक्ष विरुद्ध निकै आक्रोशित रुपमै पेश भएका थिए।

उनले पार्टी दक्षिणपन्थी बाटोमा हिंड्ने हो भने विद्रोह गर्ने चेतावनी मात्र दिएनन्।

एउटा प्रसंगमा पार्टीलाई नेतृत्व दिन सक्ने हैसियतमा रहेको समेत उनले बताएको बुझिएको छ।

उनले अध्यक्षमा विलिन वा समायोजन भएको अस्वीकार गरे।

“केही विषयहरुमा हामीबीच अलि पछि समयसम्म मतभेद रहने भएको हुनाले फोरम वा सम्मेलन वा महाधिवेशनसम्म ती जान सक्छन्,” किरणको भनाई थियो।

प्रधान शत्रुको विवाद

तर उनले शान्ति र संविधान नभए जनविद्रोहमा जाने कार्ययोजनामा एकताबद्ध रहेको बताए।

जुन कुरा अर्का उपाध्यक्ष डा बाबुराम भट्टराईले पनि दोहोर्‍याए।

तर भट्टराईले प्रधान शत्रु भारत हो कि होइन भन्नेमा अध्यक्षसँगको मतभेद नसुल्झिएको खुलाए।

“अहिले मुख्य वाधक आन्तरिक पक्ष हो कि बाह्य पक्ष हो भन्ने सैद्धान्तिक विषयमा आवश्यकता अनुसार छलफल चलाउँदै जानेछौं। तर तुरुन्तै गर्नुपर्ने कामका विषयमा हामी एउटै हुन्छौं। त्यसको योजना बनाउने जिम्मा केन्द्रिय समितिलाई दिइएको छ,” भट्टराईले बताए।

विस्तारित बैठकमा थप गम्भीर भएको पार्टीभित्रको संकट टार्न माओवादी सफल देखिएको छ।

तर अन्य दलका जस्तै तल्लो तहसम्मै माओवादीका कार्यकर्ताहरु पनि तीन खेमामा स्पष्टै बाँडिएर गोरखाबाट फर्किएका छन्।

त्यस्तो विभाजनको मानसिकता औपचारिक फुटमा परिणत हुन्छ कि एकतावद्ध हुन्छ भन्ने कुरा केही महिनामा राष्ट्रिय राजनीतिमा आउने संकट वा सहजताले धेरै हदसम्म निर्धारण गर्ने कतिपयको विश्लेषण छ।

सम्बन्धित समाचार