माओवादी निश्कर्षप्रति अन्य दल निराश

  • 28 नोभेम्बर 2010
माओवादीका नेताहरु
Image caption पालुङ्गटार बैठकमा माओवादीले दुईजीब्रे कुरा गरेको अरु दलका नेताहरुको आरोप छ

शान्ति प्रक्रिया र संविधान निर्माणमा तलमाथि भए जनविद्रोह गर्ने माओवादीको निश्कर्षले अन्य ठूला दलहरु निराश बनेको ती दलका नेताहरुको भनाई छ।

माओवादीले पालुङ्गटार बैठकमा लडाकूहरुलाई समेत सामेल गराएपछि शुरुमै अन्य दलको कान ठाडा भएका थिए।

तीखो

एक साता लामो उक्त बैठकपछि आफुहरु झनै निराश भएको अनुभव नेकपा एमाले र नेपाली कांग्रेसका नेताहरुले गरेका छन्।

“माओवादीले बन्दूकको भरमा सत्ता हत्याउन र आफुले चाहेजस्तो संविधान लेख्न खोजिरहेको जुन कुरा हामीले भनिरहेका थियौं, यसपाली पालुङ्गटार बैठकमा बाह्रसय लडाकूलाई लगेर त्यही कुरा प्रमाणित भएको छ,” नेपाली कांग्रेसका प्रमुख सचेतक लक्ष्मणप्रसाद घिमिरेले बताए।

पालुङ्गटार बैठकले संविधान र शान्ति प्रक्रियामा अरुले भाँजो हाल्न सक्ने आशंका गरेकोप्रति दलहरुले तीखो टिप्पणी गरेका छन्।

“अतिवादले ग्रसित मानिसहरु कल्पनाको एउटा भयानक तस्वीर आफैं बनाउँछन् र त्यसैसंग लड्छन्। अरुले दिएनन् भने हामी यसो गर्छौं र उसो गर्छौं भन्ने माओवादीहरुको कुराको कुनै तात्पर्य छैन,” एमालेका महासचिव ईश्वर पोखरेलले भने।

‘दुईजीब्रे’

माओवादीको शान्ति र संविधानका कुरा दुईजीब्रे भएको अरु दलको ठहर छ।

“एकातिर हामीलाई र अन्तर्राष्ट्रिय समुदायलाई देखाउनको निम्ति शान्ति र संविधानको कुरा गरेका छन्। तर चाहे त्यो प्रचण्डको होस् वा उपाध्यक्ष द्वय मोहन वैद्य किरण र बाबुराम भट्टराईको होस् भित्रि रणनीति चाहीं जनविद्रोहनै रहेको छ,” घिमिरेको भनाई थियो।

पालुङ्गटारमा हजारौं कार्यकर्ताहरुका सामु जनविद्रोहको कठोर वकालत गरेका माओवादी नेताहरु आउने दिनमा अन्य दलहरुसंगको छलफलमा नरम भएनन् भने आउने जेठ १४ को संविधान लेख्ने म्यादको औचित्य संकटमा पर्ने धेरै विश्लेषकहरुको बुझाई छ।

सम्बन्धित समाचार