नेपाली कांग्रेसभित्र नयाँ विवाद

  • 29 नोभेम्बर 2010
सुजाता कोइराला
Image caption उपसभापति पद पाउने आशामा बसेकी सुजाता कोइराला सभापतिको प्रस्तावप्रति रुष्ट रहेको बताइएको छ

नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले उपसभापति र महामन्त्री मनोनयनका लागि गरेको प्रस्तावका विषयमा कांग्रेसभित्र देखिएको विवाद झनै चुलिएको छ।

मनोनयनका विषयमा कांग्रेस केन्द्रिय कार्य समितिमा विवाद चर्किएपछि पदाधिकारी चयनको विषय सोमबार पनि टुङ्गिन सकेन।

कतिपय सदस्यका विचारमा मनोनयन विवाद अझै केहि दिन लम्बिन सक्छ।

नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले उपसभापतिमा रामचन्द्र पौडेल र महामन्त्रीमा कृष्णप्रसाद सिटौलालाई मनोनयन गर्ने प्रस्ताव अघि सारेपछि आइतबारदेखि शुरु भएको कांग्रेस केन्द्रिय कार्य समितिमा विवाद बढेको हो।

विभाजन

एकजना केन्द्रिय सदस्य अर्जुन नरसिंह केसीका अनुसार बैठकमा २५ जना सदस्यहरुले आफ्नो मत राखिसकेका छन्, र उनी सहित केही सदस्यहरुले सभापति कोइरालालाई आफ्नो प्रस्ताव फिर्ता लिएर नयाँ प्रस्ताव पेश गर्न सुझाव दिएका छन्।

“कि त सभापतिले नयाँ प्रस्ताव पेश गर्नु पर्‍यो, कि त निर्वाचनमा जानु पर्‍यो भन्ने हाम्रो भनाइ हो।”

सभापति कोइरालाबाट उपसभापतिमा मनोनयको आसमा रहेकी पूर्व सभापति स्वर्गीय गिरिजाप्रसाद कोइराला पुत्री सुजाता कोइरालाले समेत सभापतिको प्रस्तावको तीब्र विरोध गरेका विवरणहरु बाहिर आएका छन्।

तर सभापति कोइरालाद्वारा उपसभापति प्रस्तावित नेता रामचन्द्र पौडेलले बैठक केही दिन लम्बिने र त्यसपछि विवाद साम्य हुने आशा व्यक्त गरे।

गुट

“नयाँ विधानलाई कसरी कार्यान्वयन गर्ने भन्ने विषयमा छलफल चलिरहेको हो।”

यसमा कुनै समस्या छैन, यो विवाद साम्य हुन्छ।”

नेपाली कांग्रेसको पछिल्लो महाधिवेशन सकिएको दुई महिनापछि सभापति कोइरालाले पार्टी पदाधिकारी मनोनयनको प्रस्ताव केन्द्रिय समितिमा राखेका हुन्।

सभापति कोइरालाको मनोनयन प्रस्तावलाई लिएर कोइराला र देउवा पक्षधरहरु थप विभाजित भएको देखिएको छ।

कतिपय विश्लेषकहरुको ठम्याइमा नेपाली कांग्रेसको नयाँ नेतृत्वले अहिलेको विवादको सही व्यवस्थापन गर्न नसके दोस्रो ठूलो दलभित्रको गुटबन्दी र विभाजनले अझ डरलाग्दो रुप धारण गर्न सक्छ।