आधा लडाकू समायोजन स्वीकार्य हुने माओवादी संकेत

  • 2 डिसेम्बर 2010
अन्मिन कार्यालय
Image caption अन्मिनपछि कसले शिविर रेखदेख गर्ने भन्नेबारे अन्योलनै रहेको छ

सुरक्षा अंगमा समायोजन गरिने लडाकूहरुको संख्या तोक्न आनाकानी गरिरहेको माओवादी पार्टिका एकजना नेताले शिविरमा रहेका कूल लडाकूमध्ये आधाको समायोजन गरिए आफुहरुलाई स्वीकार्य हुन सक्ने जनाएका छन्।

समायोजनमा जाने लडाकूहरुको ठोस संख्या ईंगित गर्ने गरी माओवादीका नेताबाट पहिलोपटक सार्वजनिक उक्त भनाई राख्ने क्रममा पूर्व डेपुटि कमाण्डर जनार्दन शर्मा प्रभाकरले त्यसबारे कुनै प्रस्ताव भने आफुहरुले अहिलेसम्म राखी नसकेको बताए।

छलफल जारी

“विभिन्न कार्यदलहरुमा हाम्रो छलफल भइरहेको छ। तर कुनै प्रस्ताव हामीले राखेका छैनौं। उन्नाईस हजारको आधा नौ, साढे नौ हजार समायोजन गर्न सकिन्छ भन्ने हो। आधा समायोजनमा जान्छ र आधा पुनर्स्थापनामा जान सक्छ भनेर मैले भनेको हुँ,” प्रभाकरले बताए।

माओवादीका लगभग पाँच हजार लडाकूहरु नेपाली सेना, प्रहरी लगायतका सुरक्षा अंगहरुमा समायोजन गर्ने गरी माओवादी अध्यक्ष प्रचण्ड र नेपाली कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाबीच भद्र सहमति भएका खबरहरु आएका थिए।

तर त्यसलाई माओवादी नेताहरुले खण्डन गरेका थिए।

नयाँ विवाद

लडाकू संख्याको विवाद नसुल्झँदै, पुसको मध्यमा राष्ट्र संघीय निकाय अन्मिन हटेपछि उसले गर्दै आएको शिविर रेखदेख लगायतको जिम्मा कसले लिने भन्नेबारे नयाँ विवाद जन्मिएको छ।

अन्मिनको ठाउँ लिन आफुहरुले तयारी गरिरहेको भनेर विशेष समिति सचिवालयका संयोजक पूर्वरथी बालानन्द शर्माले बुधबार बीबीसीसंग बोलेका कुराहरुको सेना समायोजन विशेष समितिका सदस्य समेत रहेका माओवादी नेता प्रभाकरले चर्को खण्डन गरे।

“उहाँले विशेष समितिको सचिवको रुपमा काम गर्ने हो। अन्मिन गएपछि कसले के गर्ने भन्नेबारे छलफल हुन बाँकी छ। उहाँलाई त्यसरी बोल्ने अधिकार विशेष समितिले दिएको छैन,” प्रभाकरले भने।

सचिवालय संयोजक शर्माले अन्मिन जानुअगाडिनै माओवादी लडाकूहरुको कमाण्ड कन्ट्रोल विशेष समितिको मातहत ल्याउनु पर्ने बताएका थिए।

माओवादी नेता प्रभाकरले चाहिं औपचारिक समारोह गरेर मात्रै लडाकूहरुको कमाण्ड कन्ट्रोल विशेष समितिमा सर्ने बताए।

अन्मिन गएपछिको स्थितिलाई व्यवस्थित बनाउनको निम्ति भन्दै शुक्रबारदेखि संयुक्त राष्ट्रसंघका उपमहासचिव बि लिन पास्कोले नेपाल भ्रमण गर्दैछन्।

यसपालि उनको भ्रमणतालिकामा नेपालसहित भारतपनि परेको छ।