शान्ति प्रक्रियाको धीमा प्रगतिबारे उपमहासचिव पास्को चिन्तित

  • 3 डिसेम्बर 2010
unmin
Image caption माओवादी लडाकुको रेखदेख र अनुगमन गरिरहेको अन्मिन डेढ महिनापछि फिर्ता हुँदैछ

ेपालको शान्ति प्रक्रियामा सघाइरहेको संयुक्त राष्ट्र संघका राजनीतिक मामिला हेर्ने उप महासचिव बी लीन पास्कोले आफुलाई दुइ महिना अगाडि दिइएका आश्वासन पुरा नभएको भन्दै चिन्ता व्यक्त गरेका छन्।

दुई महिना पहिले काठमाण्डू आएर राजनीतिक दलका नेताहरुसँग परामर्श गर्दा छिटै लडाकुहरुको व्यवस्थापन र शान्ति प्रक्रियाको टुंगो लाग्ने आश्वासन पास्कोले पाएका थिए।

चारवर्षदेखि शिविरमा रहेका माओवादी लडाकुको रेखदेख गरिरहेको संयुक्त राष्ट्र संघीय सहयोग मिसन अन्मिन फिर्ता जाने समय नजिकै आइपुग्दा उपमहासचिव पास्को दुई महिनाको अन्तरालमा दोश्रोपटक शुक्रबार काठमाण्डू आइपुगेका हुन्।

चिन्ता

शुक्रबारै राष्ट्रपति र विभिन्न राजनीतिक दलका नेताहरुसँग भेट गर्दा पास्कोले आफुले दुई महिना अगाडि पाएको आश्वासन पुरा नभएको बताए।।

पास्कोसँग करीब आधा घन्टा कुरा गरेका एमालेका कार्यवाहक अध्यक्ष अशोक राईले भने, "उनले अघिल्लो समयमा आफूले पाएको आश्वासन असाध्यै धीमा गतिमा अगाडि बढेकोमा चिन्ता व्यक्त गरे।"

पास्कोले विभिन्न मन्त्रीहरु, मधेशी दलका नेताहरु तथा सेना समायोजन विशेष समितिका पदाधिकारीहरुसँग परामर्श गरेका थिए।

पास्कोले अन्मिनको बिदाइ पछि अहिले अन्मिनले गर्दै आएको कामको जिम्मेवारी कसले, कसरी लिने भन्नेमा मुख्य चासो देखाएको विशेष समितिका एकजना सदस्य डा‌‌. रामशरण महतले बताए।

प्रगति

उनले भने, "अन्मिन फिर्ता जानु अघि नै लडाकुको अनुगमन मात्र होइन चेन अफ कमाण्ड नै विशेष समितिले लिने कुरामा भइरहेको प्रगति उनलाई बतायौं।"

पास्को आफुहरुको कुरा सुनेर प्रसन्न देखिएको महतको भनाइ थियो।

भारत हुँदै नेपाल आएका पास्कोले बेलायत, अमेरिका, भारत लगायत प्रमुख देशका राजदूतहरुसँग पनि भेट्ने कार्यक्रम छ।

अन्मिन फिर्तीपछि शान्ति प्रक्रियामा राष्ट्रसंघको संलग्नता राष्ट्रसंघीय विकास कार्यक्रम युएनडीपी मार्फत जारी रहनेमा सरकार र राष्‍ट्रसंघ सहमत रहँदै आएका छन्।