शान्ति प्रक्रिया जटिल मोडमा: पास्को

  • 4 डिसेम्बर 2010
माओवादी लडाकुहरु (फाइल फोटो)
Image caption माओवादी लडाकुहरुको व्यवस्थापनबारे पास्कोले जानकारी लिएका थिए

संयुक्त राष्ट्र संघका उप महासचिव बी लीन पास्कोले नेपालको शान्ति प्रक्रिया जटिल मोडमा पुगेको बताएका छन्।

दुई दिनभर राजनीतिक दलका नेताहरु, कूटनीतिक समुदाय, राष्ट्रपति र सभामुखसँग परामर्शमा व्यस्त रहेका पास्कोले शनिबार राजनीतिक दलका नेताहरुले तत्काल शान्ति प्रक्रिया टुंगोमा पुर्‍याउन काम शुरु गरिहाल्नुपर्ने सुझाव पनि दिए।

शान्ति प्रक्रियामा सघाइरहेको संयुक्त राष्ट्र संघीय सहयोग मिसन अन्मिन फर्कन ठीक छ हप्ता बाँकी छ।

अन्मिनको सहज फिर्ती र दलहरुलाई दबाब दिने भ्रमण सकेर जानु अघि पास्कोले पत्रकार सम्मेलन आयोजना गर्दै संवाददाताहरुसँग शान्ति प्रक्रियामा थुप्रै समय र लगानी खर्च गरिसकेको औंल्याए।

टिल मोड

उनले भने, “हामी आउँदा दिनहरुमा नेपालसँग नजीक रहेर काम गर्नेछौं, हामी सबैलाई थाहा छ कि नेपालको शान्ति प्रक्रिया जटिल मोडमा पुगेको छ।”

राष्ट्रसंघ सुरक्षा परिषदका पाँच स्थायी सदस्यराष्ट्रका नेपालस्थित राजदूतहरुसँग पनि पास्कोले भेटेका थिए।

नेपालको शान्ति प्रक्रियाको आधार मानिँदै आएको दलहरुबीचको बाह्र बुँदे समझदारी गराउन महत्वपूर्ण भूमिका खेलेको भनिएको देश भारत हुँदै नेपाल आएका पास्कोले भ्रमणको अन्त्यतिर भारतका राजदूतसँग पनि परामर्श गरेका थिए।

इन्कार

तर पास्को र राजदूतबीचको कुराकानीको विवरण दिन भारतीय दूतावासकी प्रथम सचिव अपूर्वा श्रीवास्तवले इन्कार गरिन्।

उनले भनिन्, “म त्यो भेटबारे केही बताउन सक्दिनं किनभने मलाई विस्तृत विवरण थाहा छैन।”

पास्कोले नेपालका प्रमुख राजनीतिक दलका शीर्ष नेताहरु, मधेशी दलका नेताहरु, राष्ट्रपति र सभामुखसँग पनि भेटघाट गरेका थिए।

पास्को आउनु तीन दिन अघि मात्र सेना समायोजन विशेष समिति सचिवालयको संयोजक तोक्न सफल भएकाले पास्कोलाई देखाउने एउटा प्रगति थियो दलहरुसँग।

उनीहरुले पास्कोसँग छिटै लडाकु व्यवस्थापनको काममा ठोस प्रगति हुने बताए पनि माओवादी तत्काल उसका लडाकु व्यवस्थापन गर्न तयार होला भन्नेमा दलहरु अझ विश्वस्त छैनन्।