विशेष अधिवेशन डाक्ने माओवादी घोषणा

  • 5 डिसेम्बर 2010
संविधान सभा नेपाल
Image caption माओवादीले संसदको नियमित नसके विशेष अधिवेशन बोलाउन निवेदन दर्ता गर्ने भएको छ

प्रमुख विपक्षी नेकपा एकीकृत माओवादीले थाँती रहेको प्रधानमन्त्री चयन प्रक्रिया पुरा गर्न नियमित नसके विशेष अधिवेशन गर्न पहल गर्ने घोषणा गरेको छ।

माओवादीको पदाधिकारीहरुको आइतबारको बैठकले संसदको नियमित हिउँदे अधिवेशन तत्काल बोलाउन पहल गर्ने, त्यो प्रयास सफल हुन नसके विशेष अधिवेशन डाक्न निवेदन दर्ता गर्ने निर्णय गरेको छ।

बजेट पेश गर्न संसदको रोष्ट्रममा जाँदै गरेका अर्थमन्त्रीमाथि माओवादीले हातपात गरेपछि सरकारले दुइ साता अघि मध्यरातमा संसद अधिवेशन अन्त्य गरेको थियो।

निवेदन

त्यस लगत्तै विस्तारित बैठकमा व्यस्त माओवादीले आइतबार उसको पदाधिकारी बैठकमा हिउँदे अधिवेशन डाक्न पहल गर्ने निर्णय गरेको हो।

पदाधिकारी बैठकका सहभागी माओवादी नेता सी पी गजुरेल भन्छन्, “पहिले हामी सहमतिबाटै जान प्रयास गर्नेछौं, कांग्रेस र एमाले सहमत भएनन भने हामी विशेष अधिवेशनका लागि निवेदन दर्ता गर्नेछौं।”

यस अघि नै कांग्रेस केन्द्रीय समितिले संसद अधिवेशन डाक्नुपर्ने निर्णय गरिसकेको छ।

अहिले पनि कांग्रेस संसद अधिवेशन डाकिहाल्नुपर्ने मानसिकतामा रहेको कांग्रेस संसदीय दलका प्रवक्ता नविन्द्रराज जोशी बताउँछन्।

हस्ताक्षर

संविधान सभाका कानुनी सल्लाहकार टेकप्रसाद ढुंगानाका अनुसार संसदको एक चौथाइ सभासदले हस्ताक्षर सहित निवेदन गरे विशेष अधिवेशन डाक्नुपर्नेछ।

ढुंगाना भन्छन्, “२५ प्रतिशत सदस्यले हस्ताक्षर सहित समावेदन गरे राष्ट्रपतिले पन्ध्रदिन भित्र विशेष अधिवेशन आह्वान गर्नुपर्ने बाध्यात्मक व्यवस्था संविधानमा छ।”

संसद अधिवेशन अन्त्य गरेपछि प्रधानमन्त्री र खासगरी एमाले सम्बद्ध मन्त्रीहरुले सहमति नभै संसद डाक्नुको तुक नभएको बताउँदै आएका छन्।

तर मुख्य विपक्षी माओवादीको विशेष अधिवेशनका लागि पहल गर्ने घोषणा पछि सरकारलाई दवाव बढ्न सक्छ।

काठमाडौं स्थित बीबीसीकी एकजना संवाददाता भन्छिन्, माओवादीको पहलमा कांग्रेसले पनि साथ दिएमा त्यसलाई धान्न सरकारलाई गाह्रो हुनेछ।