विश्वविद्यालयहरुलाई ब्यारेक बनाउने प्रचण्डको चेतावनी

  • 10 डिसेम्बर 2010
प्रचण्ड
Image caption पालुङटार बैठकबाट फर्किए लगत्तै प्रचण्डले कडा चेतावनी दिएका हुन्

माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशका सबै कलेज र विश्वविद्यालयहरुलाई ब्यारेक बनाउन र विद्यार्थीलाई फौजी बन्न तम्तयार रहन भनेका छन्।

एकीकृत माओवादीका वरिष्ठ नेताहरु शान्ति र संविधान नभए जनविद्रोह भन्ने नीति पारित गर्दै केहि दिन अघि मात्र पालुङटारको विस्तारित बैठकबाट राजधानी फर्किएका हुन्।

माओवादीका एउटा भ्रातृ संगठन, अखिल क्रान्तिकारी, को राष्ट्रिय अधिवेशन उदघाटन गर्दै प्रचण्डले, उनकै शब्दमा, माओवादी शासन-सत्ता स्थापित गर्न आवश्यक धक्काका लागि विद्यार्थीहरुलाई तम्तयार रहन निर्देशन दिए।

लथालिङ्ग

अखिल क्रान्तिकारीको अठारौं अधिवेशनका लागि कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको परिसरमा निर्माण गरिएको उदघाटनस्थलको पृष्ठभूमिमा रहेको ऐतिहासिक गान्धी भवनका झ्यालका अधिकांश सिसा फुटेका थिए।

छानाभरी झार उम्रिएको थियो।

जमानामा लगाएको रंग फुंग उडेको थियो।

अहिलेको लथालिङ्ग शैक्षिक स्थिति जनाउने त्यो भवनको रंगरुप उजिल्याउनेबारे देशको सबैभन्दा ठूलो राजनीतिक दलको विद्यार्थी संगठनलाई कुनै चासो थिएन।

बरु उनीहरुका नेता माओवादी अध्यक्ष प्रचण्डले छोटो तर आफ्नो बृहत्तर लक्ष्यमा केन्द्रित मन्तब्य शुरु गर्दा नै उनले त्यो समारोहमा आफु शिक्षाबारे बोल्न नआएको बताए।

उनले भने, “म अहिले शैक्षिक स्थितिबारे कुराकानी गर्न चाहन्नं। देश अहिले त्यो ठाउँमा छैन।

‘निर्णायक’

“क्याम्पसहरु सबै एउटा त्यस्तो ब्यारेकमा परिवर्तित हुन जरुरी छ, जसले अन्तिम रुपमा प्रहार गर्न सकोस र नेपाली क्रान्तिलाई निर्णायक मोडमा पुर्‍याउन सकियोस,” प्रचण्डले भने।

कार्यक्रमका वक्ताहरु चाहिं त्रिवि र महेन्द्र संस्कृत विश्वविद्यालयका उपकुलपति देखि माओवादीका विदेशी भाइचारा संगठनका प्रतिनिधिसम्म थिए।

वक्तामध्ये अधिकांशले एकद्वारिय र सबैलाई समेटने किसिमको नि:शुल्क शिक्षाको वकालत गरे।

त्यस्तो निशुल्क शिक्षा माओवादीले चाहेजस्तो सत्ता स्थापित भएपछि मात्र प्राप्त हुने वक्ताहरुले बताए।

‘जनगणतन्त्र’

विद्यार्थी सम्मेलनको पहिलो उद्देश्य नै जनगणतन्त्र स्थापना गर्न विद्यार्थीहरु संगठित गर्नु रहेको विद्यार्थी नेताहरुले बताएका थिए।

त्यसैमा जोड दिंदै प्रचण्डले भने, “देश यस्तो ठाउँमा छ जहाँ हजारौं र लाखौं विद्यार्थीहरु फौजीकृत रुपमा एक ठाउंमा नआउने हो भने देश प्रतिक्रान्तिकारीको धरापमा पर्नेछ।

“त्यसकारण जरुरी पर्ने वित्तिकै विश्वविद्यालयलाई व्यारेकमा परिणत गर्न र विद्यार्थीलाई फौज बन्न तम्तयार रहन अपील गर्दछु।”

पहुँच

त्रिभुवन विश्वविद्यालयको जारी परीक्षालाई माओवादी दवावमा पर सारेर विश्वविद्यालयलाई नै बैठक स्थल बनाएका माओवादी विद्यार्थीहरुले त्यसबारे कुनै टिप्पणी गरेनन्।

समारोहमा उपस्थित त्रिभुवन विश्वविद्यालयका उपकुलपति माधव पौडेलले समेत त्यसबारे उल्लेख नै गरेनन्। बरु उनले उच्च शिक्षामा निम्न वर्गको पहुँच नभएको तथ्यांक प्रस्तुत गरे।