माओवादीद्वारा अधिवेशनको लागि राष्ट्रपति समक्ष समावेदन

  • 12 डिसेम्बर 2010
माओवादी नेता नारायणकाजी श्रेष्ठ प्रकाश
Image caption प्रधानमन्त्रीको चुनावी प्रक्रिया परिणाममुखी बनाउन समावेदन गरेको नेता प्रकाशले बताए

पाँच महिनादेख लगातार विफल रहेको प्रधानमन्त्री चुन्ने प्रक्रियालाई नयाँ ढंगबाट निश्कर्षमा पुर्‍याउनको निम्ति भन्दै, माओवादीले अन्य पाँच दलका केही सभासदहरुसहित सदन अधिवेशनको निम्ति राष्ट्रपति समक्ष समावेदन गरेको छ।

मंसिरको शुरुमा अर्थमन्त्रीले बजेट ल्याउन खोज्दा संसदमा हात हालाहाल भएपछि अधिवेशन रोकिएको थियो।

अर्को बाटो

प्रधानमन्त्री माधवकुमार नेपालले राजनीतिक दलहरुसंग न्यूनतम सहमति गरेरमात्र अधिवेशन डाक्ने बताएपछि प्रतिपक्षी माओवादीले अर्को बाटोबाट अधिवेशन डाक्ने काइदा अपनाएको हो।

आईतबार राष्ट्रपतिकहाँ १८७ जना सभासदहरुको संयुक्त समावेदन दिएर फर्किएका माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ प्रकाशले सो अधिवेशनमा दुई मुख्य एजेण्डा हुनुपर्ने आफुहरुको जिकिर रहेको बताएका थिए।

“प्रधानमन्त्रीको निर्वाचन नयाँ शिराबाट अघि बढाउन र त्यस सम्बन्धी सबै प्रस्ताव एवं निर्णयहरु गर्न वाञ्छनीय भएकोले हामीले अधिवेशनको लागि समावेदन दिएका छौं। अर्को सन्दर्भ चाहिं जसरी सरकारले सदनलाई छलेर अध्यादेशमार्फत बजेट ल्यायो, त्योपनि एउटा विषय हो,” उनले भने।

नियमित प्रकृतिकै

सरकारले नमानेको बेला विशेष प्रयोजन खुलाएर एक चौथाई सभासदहरुले समावेदन गरेर बोलाउन सकिने संवैधानिक प्रावधानको प्रयोग गरेर डाक्न लागिएको भएपनि यो अधिवेशन नियमित र सामान्य प्रकृतिकै हुने जानकारहरुले बताएका छन्।

“संविधानले नियमित वा विशेष भन्ने कुनै विशेषण प्रयोग गरेको छैन। यी अधिवेशनहरु सबै समान हैसियत, समान महत्व र समान किसिमका हुन् भन्न सकिन्छ,” संसदका कानुनी सल्लाहकार सहसचिव टेकप्रसाद ढुंगानाले भने।

नियम अनुसार समावेदन भएको १५ दिनभित्र राष्ट्रपतिले सदनको अधिवेशनको मिति तोकिसक्नुपर्छ।

गएको तीन साता यता थाँति रहेको तथा सोह्रचोटि विफल भइसकेको प्रधानमन्त्री चुन्ने अभ्यासलाई यो अधिवेशनले फेरि थाल्ने देखिएपनि नयाँ प्रधानमन्त्रीबारेको अन्योल अझै यथावतनै छ।

त्यसमाथि अध्यादेशमार्फत बजेट ल्याएको सरकारको निम्ति सदनको अधिवेशन थप चुनौतिपूर्ण हुने देखिन्छ किनभने उसले अधिवेशन शुरु भएको साठि दिनभित्र अध्यादेश पारित गराउनै पर्छ।

सम्बन्धित समाचार