राष्ट्रपतिद्वारा संसद अधिवेशन आह्वान

  • 13 डिसेम्बर 2010
maoists leaders
Image caption माओवादीहरुले नयाँ ढंगबाट प्रधानमन्त्री चयन गर्न भनेपनि दलहरुबीच मतभेद कायम छ

एकीकृत माओवादी लगायतका दलहरूले समावेदन गरेको एक दिन पछि नै राष्ट्रपति डा. रामवरण यादवले आगामी पुष ४ गते संसदको अधिवेशन आह्वान गरेका छन्।

एकीकृत माओवादी लगायत ६ दलले संसदको विशेष अधिवेशन डाक्न राष्ट्रपति रामबरण यादवसमक्ष आइतबार समावेदन गरेका थिए।

प्रधानमन्त्री चुनावको गतिरोध तोड्न भनेर विशेष अधिवेशन डाक्ने प्रक्रिया शुरु गरिएको थियो।

तर अझैसम्म पनि को प्रधानमन्त्री बन्ने र कसरी बन्ने भन्नेमा तीन प्रमुख दलहरुबीच सहमति बनेको छैन।

सहमतिकै अभावमा यस अघिको अधिवेशनमा १६ पटकसम्म मतदान हुँदा प्रधानमन्त्री चयन हुन सकेको थिएन।

प्रमुख विपक्षी माओवादीले संसद अधिवेशन अन्त्य सँगसँगै रामचन्द्र पौडेलको उम्मेदवारी समाप्त भएको भन्ने अडान छोडेको छैन।

नयाँ प्रक्रिया

माओवादीले राष्ट्रपतिको समावेदनमा उल्लेख गरेको नयाँ ढंगको प्रक्रियाबारे माओवादी सचेतक जयपुरी घर्ती भन्छिन्, “नयाँ प्रक्रिया शुरु गरौं भनेको हो, त्यो नियमावली संशोधन पनि हुन सक्छ, नयाँ प्रक्रिया पनि हुन सक्छ र त्यसबाट जो पनि प्रधानमन्त्री बन्न सक्छ।”

तर जुनसुकै अधिवेशन बोलाएपनि आफ्नो प्रधानमन्त्रीको उम्मेदवारी कायमै रहेको कांग्रेसका प्रमुख सचेतक लक्ष्मण घिमिरे बताउँछन्।

घिमिरेका अनुसार लडाकु समायोजन, लुटिएको सम्पत्ति फिर्ता लगायतका राष्ट्रिय मुद्दाहरुमा सहमति नबनेसम्म कांग्रेसले उम्मेदवारी फिर्ता लिनेछैन।

एमाले भने अहिले कांग्रेस नेता रामचन्द्र पौडेलले उम्मेदवारी फिर्ता लिने र पालैपालो तीन पार्टीका शीर्ष नेता प्रधानमन्त्री बन्नेमा सहमति बनिसकेको ठान्छ।

एमालेका प्रमुख सचेतक भीम आचार्य भन्छन्, “हाम्रो माओवादीसँग कुराकानी भइरहेको छ, पालै पालो प्रधानमन्त्री बन्ने भन्नेमा सहमति छ, अब पनि कसैले धोका देला जस्तो लाग्दैन।”

अडकलबाजी

यसरी दलहरुबीच असहमति जस्ताको तस्तै रहेको देखिए पनि दलहरुबीच नयाँ सत्ता समीकरणका लागि गोप्य सहमति भइसकेको अडकलबाजी चलेको छ।

तर काँग्रेस प्रमुख सचेतक घिमिरे अहिलेसम्म कुनै पनि सहमति नबनेको बताउँछन्।

यसैबीच प्रधानमन्त्री माधवकुमार नेपालले संसदको विशेष अधिवेशन या नियमित अधिवेशन बोलाउने भन्नेमा सत्ता साझेदार र कानुन व्यवसायीहरुसँग परामर्श गरेका थिए।

बीबीसीकी काठमाडौंस्थित एकजना संवाददाता भन्छिन्, अहिलेको स्थिति कायम रहेसम्म जुनसुकै अधिवेशन बोलाइएपनि प्रधानमन्त्री चयनको अन्यौल अन्त्य हुन सक्ने देखिंदैन।