पूर्व युवराज पारस शाह धरौटीमा रिहा

  • 16 डिसेम्बर 2010
पारस शाह
Image caption पारस शाह बारम्बार विभिन्न विवादमा मुछिँदै आएका छन्

चितवनको राष्ट्रिय निकुञ्ज भित्र रहेको एउटा होटेलमा शनिबार राती भएको भनिएको झगडापछि तीनदिन अघि पक्राउ परेका पूर्व यूवराज पारस शाह धरौटीमा रिहा गरिएका छन्।

पारस शाह रिहा भएपछि उनका समर्थकहरुले उनको भव्य स्वागत गरेका थिए।

उनलाई प्रहरीले पोखराबाट पक्राउ गरी चितवन लगेको थियो।

रिहाई लगत्तै पुन पोखरा पुगेर सञ्चारकर्मीहरुसंग प्रतिक्रिया दिंदै शाहले भने, “नेपाल र नेपालको लागि मैले गर्‍या हो। फेरि गर्न म हिच्किचाउँदिन।”

सरकारी अधिवक्ताले मुद्दा पेश गर्ने क्रममा शाहलाई बिहिबार जिल्ला प्रशासन कार्यालय भरतपुरमा उपस्थित गराईएको थियो।

शाह विरुद्ध परेको जाहेरीको आधारमा मुलुकी ऐन बमोजिम उनलाई धरौटीमा रिहा गरिएको प्रमुख जिल्ला अधिकारी बसन्तराज गौतमले बताए।

“केही सार्वजनिक अपराध र सजाय ऐन २०२७ को दफा २ को ‘ग’, ‘ज’ र ‘य’ को कसुर अपराधमा सोही ऐन को दफा ६(१) बमोजिम हुन सक्ने सजाय वापत निज प्रतिवादी पारस शाहसंग दश हजार रुपियाँ धरौटी मागिएको छ,” गौतमले भने।

नाराबाजी

शाहलाई फागुन १९ गतेको लागि अर्को तारेख दिइएको छ।

उनलाई राखिएको स्थान प्रहरी तालिम केन्द्रबाट जिल्ला प्रशासन कार्यालय ल्याउने क्रममा सुरक्षा व्यवस्था कडा पारिएपनि शाहका समर्थकहरु अगाडि, अगाडि नारा लगाउँदै प्रशासन कार्यालय पुगेका थिए।

समर्थकहरु र प्रहरीको माझमा मुसुमुसु हाँस्दै उनी जिल्ला प्रशासन कार्यालय प्रवेश गरेका थिए।

करीब एक घण्टा पछि रिहा भएर बाहिरिंदा शाहका समर्थकहरुले फूलमालाले स्वागत गरेका थिए।

रिहा भए लगत्तै चितवनमा जस्तै साँझ पोखरा पुग्दा पनि उनले सैयौं समर्थकहरुको स्वागत पाएका थिए।

निषेधित क्षेत्र’

चितवनमा पूर्व युवराज तारेखमा रिहा भए लगत्तै सरकारले राजधानी काठमाण्डौंका विभिन्न स्थानलाई निषेधित क्षेत्र घोषणा गरेको छ।

ती क्षेत्रहरुमा जुलुस, धर्ना, र्‍याली र सभा गर्न रोक लगाइएको छ।

उनको गिरफ्तारीको विरोध र रिहाइको स्वागतमा देशका विभिन्न ठाउँहरुमा जुलुश र र्‍याली निस्किन थालेपछि त्यसलाई ध्यानमा राख्दै गर्दै सरकारले स्थानीय प्रशासन मार्फत उक्त निर्णय गरेको अनुमान गरिएको छ।

पूर्व युवराजको पक्राउको विरोध, रिहाइको स्वागत अनि उनीसँगको विवादमा मुछिएका उपप्रधानमन्त्री सुजाता कोइरालाका ज्वाईँ रुवेल चौधरीको विरोधमा काठमाण्डौं लगायत देशका विभिन्न स्थानहरुमा प्रदर्शनहरु भएका थिए।