नेपाल एअरलाइन्सका अधिकारीहरुविरुद्ध भ्रष्टाचारको मुद्दा

  • 24 डिसेम्बर 2010
नेपाल एअरलाइन्स्को एक विमान
Image caption विमान अभावले गर्दा नेपाल एअरलाइन्सको बजार विदशी कम्पनीले लिएका छन्

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल वायु सेवा निगमका कार्यकारी अध्यक्ष सुगतरत्न कंसाकार सहित पाँच जना अधिकारीहरुविरुद्ध भ्रष्टाचार गरेको ठहर गर्दै मुद्दा दायर गरेपछि उनीहरु सबै निलम्बनमा परेका छन्।

कंसाकारले एअर बस खरीद गर्न निगमको खाताबाट पेरिसस्थित एउटा बैंकमा झण्डै पौने ६ करोड रुपैया फिर्ता नहुने शर्तको बैना बुझाएका थिए।

महिनौं अनुसन्धानपछि अख्तियारले बैना प्रकरणमा भ्रष्टाचार भएको ठहर गरेको हो।

करीब एक वर्ष अघि एअर बसलाई बैना बुझाए लगत्तै भ्रष्टाचार भएको खबरहरु प्रकाशित भएपछि बीबीसी नेपाली सेवासँगको अन्तर्वार्तामा निगमका कार्यकारी अध्यक्ष सुगतरत्न कंसाकारले आफुले कुनै गल्ती नगरेको बताएका थिए।

‘त्रुटि’

तर सोमबार बीबीसीसंगको संक्षिप्त कुराकानीमा उनले केही त्रुटि भएको हुनसक्ने बताए।

“केहि त्रुटि भए होलान् तर सबै कुरा सत्य होइन। प्रमाणित भएमा सजाय भोग्न तयार छु।”

आयोगले कंसाकार सहित निगमका पाँचजना कर्मचारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो।

आयोगका प्रवक्ता इश्वरी पौडेलका अनुसार अनुसन्धानका क्रममा कंसाकारसँग पटक, पटक लिइएको बयान र अरु प्रमाणका आधारमा मुद्दा दायर गरिएको हो।

“सन्चालक समिति बोर्डले जहाज किन्न संझौता गर भनेकोमा एअर बसलाई बैना नै बुझाउने काम गरेकाले भ्रष्टाचार गरेको ठहर गरेका हौं।”

आयोगले अभियुक्तहरुबाट बैना बुझाइएको ५ करोड ७३ लाख रुपैया सहित ब्याज असुल गर्न माग गरेको छ।।

‘निलम्बन’

कंसाकारसहित कामु नायब महाप्रबन्धकद्वय राजु केसी र गणेश ठाकुर, कामु निर्देशक ज्ञानेन्द्रपुरुष ढकाल, निर्देशक मयुरशमशेर राणा र कामु उपनिर्देशक केशवराज शर्माविरुद्ध मुद्दा दायर गरेको हो।

दोषी प्रमाणित भएमा अभियुक्तहरुलाई बिगो असुली सहित दश वर्षको कैद सजाय हुनेछ।

कंसाकारलाई चाहिँ सरकारी उच्च पदमा रहेको व्यक्ति भएकाले भ्रष्टाचार निवारण ऐन २०५८ अनुसार थप ३ बर्ष गरी तेह्र वर्षको सजाय माग गरिएको छ।

आयोगका प्रवक्ता पौडेलका अनुसार कानुन अनुसार कंसाकार लगायत अभियोग लगाइएका सबै अधिकारीहरु निलम्बनमा परेका छन् र मुद्दाको फैसला नभएसम्म उनीहरुको निलम्बन फुकुवा हुने छैन।