प्रस्ताव फिर्ता लिन माओवादीद्वारा अस्वीकार

  • 19 डिसेम्बर 2010
व्यवस्थापिका संसद
Image caption समावेदन गरेर बोलाइएको संसदको अधिवेशन आइतबार औपचारिकतामा मात्र सीमित रह्यो

सत्ताधारी एमाले र नेपाली कांग्रेसको मागको बेवास्ता गर्दै संसदमा आफुले दर्ता गरेको प्रस्ताव फिर्ता लिन अस्वीकार गरेपनि विपक्षी माओवादीले त्यसबारे थप कुराकानी गरेर निर्णय लिन स्वीकार गरेको छ।

तीन दलबीचको छलफलमा भएको उक्त सहमतिपछि माओवादी लगायत केही साना दलका सभासदहरुले राष्ट्रपतिलाई समावेदन गरेर डाकेको संसदको अधिवेशन आइतबार केवल औपचारिक रुपमा मात्र शुरु भयो।

टकराव

हात्तीवन र गोकर्णमा भएका बहुप्रचारित बैठकहरुको श्रृंखला तोडिएपछि एक महिनाको अन्तरालमा आइतबार पहिलोपटक तीन मुख्य दलका नेताहरु सिंहदरबारमा भेला भएका थिए।

सो बैठकको मुख्य एजेण्डा माओवादीले समावेदन गरेर बोलाएको संसद अधिवेशन थियो।

जसमा छलफलको प्रमुख प्रस्तावको रुपमा माओवादीले प्रधानमन्त्री छान्ने नयाँ प्रक्रिया थाल्ने विषयवस्तु राखेको थियो।

संसद अधिवेशन शुरु हुन केही घण्टा अगाडि बसेको तीन दलको बैठकमा माओवादीलाई अन्य दुई दलले आपसी टकरावबाट बच्न सो प्रस्ताव फिर्ता लिन आग्रह गरेका थिए।

बरु त्यस्ता कुरा नियमित अधिवेशननै बोलाएर छलफल गर्न सकिने आफुहरुले माओवादीलाई बताएको छलफलमा सहभागी एमाले नेता भरतमोहन अधिकारीको भनाई थियो।

“टकरावमा किन जाने? जुन एजेण्डा माओवादीले ल्याएको छ, त्यो सातदिनपछि प्रधानमन्त्रीले सहमतिमा बोलाउने नियमित अधिवेशनमै ल्याए हुन्छ। अहिले पेश भए बेकार झगडा मात्र हुन्छ,” अधिकारीले भने।

अस्वीकार

तर माओवादीले आफुले समावेदन गरेर बोलाइसकेको हुनाले जारी अधिवेशनमै प्रधानमन्त्रीको नयाँ चुनावी प्रक्रियाको थालनी गर्न सहयोगको अपील गर्‍यो।

“हामी पछि हट्ने भन्ने प्रश्न रहँदैन। यो हाम्रो व्यक्तिगत एजेण्डा होइन। मुलुकलाई निकास दिन ल्याइएको एजेण्डा हो,” माओवादीका प्रमुख सचेतक पोष्टबहादुर बोगटीले बताए।

एमाले र माओवादीका नेताबीच समावेदन गरेर बोलाएको अधिवेशनको हैसियतबारेपनि कुरा मिलेन।

सर्वोच्च अदालतले विगतमा गरेको फैसलाको आधारमा समावेदन गरेर डाकिएको अधिवेशन केवल निश्चित एजेण्डामा मात्र सीमित हुने एमाले नेता अधिकारीको धारणाको माओवादी नेता बोगटीले खण्डन गरे।

“प्रधानमन्त्री छान्ने नै भनेर हामीले बोलाएका हौं। समावेदन गरेर बोलाएको बैठक भिन्नै हुन्छ भन्ने संविधानमा केही छैन। यसैलाई नियमित बैठक बनाएर एजेण्डा छलफल गरिनुपर्छ,” बोगटीले भने।

कुराकानीले कुनै निचोड नदिएपछि थप छलफल जरुरी भन्दै तीन दलका नेताहरु उठेका थिए।

लगत्तै बसेको संसदको बैठकमा सभामुखले केवल राष्ट्रपतिले अधिवेशन डाकेको पत्र पढेर सुनाए।

अर्को बैठक पुष ८ गतेलाई तोकिएको छ।

सम्बन्धित समाचार