माओवादी नेता भट्टराईसँग स्पष्टीकरण लिने तयारी

  • 30 डिसेम्बर 2010
माओवादी नेताहरु
Image caption पालुङटार बैठक पछि माओवादी नेताहरुबीच अन्तर्कलह अरु तीव्र भएर गएको बताइन्छ

पार्टीभित्रको मतभिन्नता सार्वजनिक गरेको भन्ने विषयलाई लिएर एकीकृत नेकपा माओवादीका उपाध्यक्ष डा.बाबुराम भट्टराईसँग स्पष्टीकरण लिने तयारी भैरहेको बताइएको छ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र अर्का उपाध्यक्ष मोहन वैद्य किरण निकट नेताहरुले भट्टराईको जवाफ सन्तोषजनक नभएमा उनलाई आत्मालोचना गर्न लगाइने बताएका छन्।

अर्को साता हुने केन्द्रिय समितिको बैठकमा त्यसबारे छिनोफानो हुने उनीहरुको भनाइ छ।

माओवादी नेता भट्टराईले अनुशासन उल्लंघन गरेको भन्ने विषयमा स्थायी कमिटीको बैठकमै छलफल भएको थियो। तर कुनै निर्णय नहुँदै उक्त बैठक स्थगित गरी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केन्द्रिय समितिको बैठक पुष १९ गते डाकेका छन्।

‘उदाङ्गो’

केही समय अघि भट्टराईले कान्तिपुर दैनिकलाई दिएको अन्तर्वार्तामा पार्टीभित्रको मतभिन्नता उदाङ्गो पारेको भनिएको विषय उक्त बैठकको एजेण्डा बनाइने प्रचण्ड निकट पोलिटब्युरो सदस्य हरिबोल गजुरेलले बताए।

“साथीहरुले अब उहाँले कुरा के हो स्पष्ट पार्नु पर्‍यो भनेका छन्, त्यसैले उहाँले एकपटक स्पष्ट पारी दिनु पर्छ।”

भट्टराईमाथि कस्तो कारवाही हुनेछ भन्ने कुरा अर्का उपाध्यक्ष मोहन बैद्य किरण पक्षको भूमिकामा निर्भर हुने जानकारहरुको बुझाइ छ।

किरण पक्षधर मानिने सचिव सीपी गजुरेलको कुराले उनीहरु भट्टराईमाथि कुनै ठूलै कारवाही गर्ने मनस्थितिमा नरहेको बुझिन्छ।

तर उनले पार्टीभित्रको मतभिन्नता बाहिर नलग्ने कुरामा नेता भट्टराईले पनि सहमति जनाएको बताए।

‘असहमति’

नेता भट्टराईले नयाँ संविधान र शान्ति भन्दा पार्टीले जनविद्रोहमा जोड दिने नीति पारित गरेको धारणा अन्तर्वार्ता मार्फत सार्वजनिक गरेका थिए।

त्यसैले आफूले लिखित असहमति जनाएको उनको भनाइ थियो।

भट्टराई पक्षीय मानिने नेता राम कार्कीले पार्टी भित्र पहिले देखि नै मतभेदहरु रहेको र तीनै विषयबारे फेरि विवाद भएको बताए।

नयां संविधान बनाउन पांच महिनाभन्दा पनि कम समय बांकी रहेका बेला संविधानसभाको सबैभन्दा ठूलो दल माओवादीमा चर्किएको आन्तरिक द्वन्द्वप्रति धेरैले चिन्ता व्यक्त गरेका छन्।