राष्ट्रपतिले जिम्मेवारी लिने अवस्था आउने चेतावनी

  • 3 जनवरी 2011
राष्ट्रपति डाक्टर रामवरण यादव
Image caption सरकार प्रमुख जिम्मेवारीबाट पछि हटे राष्ट्रपति सक्रिय हुने उपराष्ट्रपतिको भनाई थियो

हाल जारी राजनीतिक गतिरोध लम्बिदै गएमा राष्ट्रपतिले कार्यकारी अधिकार लिन सक्ने उपराष्ट्रपति परमानन्द झाले बताएका छन्।

सरकार सञ्चालन गर्ने दलहरुले आफु असफल भएको स्वीकार गरे भने राष्ट्राध्यक्षका हैसियतमा राष्ट्रपतिको भूमिका स्वत: आउने झाको भनाइ थियो।

छ महिनासम्म पनि नयाँ प्रधानमन्त्रीको चयन हुन नसकेको एवं निर्धारित अवधिमा संविधान बन्ने र शान्ति प्रक्रिया पुरा हुने संभावना नदेखिंदा गंभीर राजनीतिक संकटको आशंका बढेका बेला राष्ट्रपतिको संभावित भूमिकाका बारे उपराष्ट्रपति परमानन्द झाले मुख खोलेका हुन्।

सोमबार रिपोर्टर्स क्लब नेपालको पहलमा उनकै कार्यालयमा पत्रकारहरुसंग कुरा गर्दै उपराष्ट्रपति झाले भने, “लथालिङ्गको अवस्थामा यो देशलाई छोडेर नेतृत्व भाग्यो भने राष्ट्रपतिको जिम्मेवारी आउँछ।”

‘स्वत:’

“यदि सरकार प्रमुखले छोडेको अवस्थामा राष्ट्रपतिको भूमिका स्वत आउँछ।”

तर राष्ट्रपतिको भूमिकाका लागि सरकार प्रमुखले हात खुट्टा छोडेको घोषणा गर्नु पर्ने झाले बताए।

त्यस्तो स्थितिमा राष्ट्रपति पछि नहट्ने उनको विश्वास थियो।

“यदि सरकार प्रमुख आफ्नो जिम्मेवारीबाट पछि हटे भने जिम्मेवारी लिनबाट राष्ट्रपति पछि हट्नुहोला जस्तो मलाई लाग्दैन।”

आशंका

यसअघि गहिरिंदो राजनीतिक संकटका बीच राष्ट्रपति शासन लागू हुन सक्ने भन्ने आशंका मुख्य विपक्षी दल माओवादी लगायत अरु दलका नेताहरुले सार्वजनिक रुपमै गर्दै आएका थिए।

तर राष्ट्रपति डाक्टर रामवरण यादवले संविधानसभाबाटै निकास निकाल्न पटक पटक जोड दिंदै आएका छन्।

आफु संविधानले दिएको अधिकार भित्रै रही काम गरिरहने उनले बताउँदै आएका छन्।