अनमिन बिदा भएपछिको स्थितिबारे शीर्षस्थ नेताहरुको बैठक हुने

  • 5 जनवरी 2011
प्रधानमन्त्री माधव नेपाल (दायां) र माओवादी नेता प्रचण्ड (बायां)
Image caption माओवादी नेता र प्रधानमन्त्रीको भेटपछि तीन दलका नेताहरुको बैठक बस्ने निर्णय भएको हो

दस दिनपछि बिदा हुन लागेको अनमिनको निगरानीमा राखिएका माओवादी लडाकु शिविर र हतियारको व्यवस्थापन अब कसरी गर्ने भन्ने बारे तीन ठूला दलका शीर्षस्थ नेताहरुले विहीबार छलफल गर्ने भएका छन्।

एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसंग भएको प्रधानमन्त्री माधवकुमार नेपालको कुराकानीपछि उक्त सहमति भएको अधिकारीहरुले बताए।

प्रधानमन्त्रीका विदेश मामिला संबन्धी सल्लाहकार राजन भट्टराईले भने, "अनमिन गएपछि विशेष समिति अन्तर्गत क्यान्टोनमेन्ट र कन्टेनरको व्ववस्थापनको विधि विधानबारे तीन दलका शीर्षस्थ नेताहरु बीच भोलि बैठक बस्ने सहमति भयो।"

व्ववस्थापन

अनमिन गएपछि लडाकु शिविर र हतियारको व्ववस्थापन के कसरी गर्ने भन्ने बारे तीन ठूला दलका शीर्षस्थ नेताहरुका बीच छिट्टै सहमति हुने आशा गरिएको भट्टराईले बताए।

लडाकु राखिएका शिविर र हतियार राखिएका कन्टेनर आफुलाई बुझाउन सरकारले अनमिनलाई पत्र लेखेको भनी समाचार आएपछि त्यसप्रति आपत्ती जनाउन प्रचण्ड बुधबार प्रधानमन्त्री कार्यालय पुगेका थिए।

प्रचण्डका स्वकीय सचिव समीर दाहालले भने, "सहमति नगरी सरकारले अनमिनलाई एकपक्षीय रुपमा पत्र पठाएर वातावरण असहज तुल्याएको भनेर अध्यक्षले आपत्ती जनाउनु भयो।"

सरकारले अनमिनलाई पठाएको भनिएको पत्रको समाचार सार्वजनिक भएपछि त्यसलाई माओवादीले गंभीर रुपमा लिएको थियो।

यो शान्ति संझौता विपरित भएको र यसबाट उक्त संझौता भंग भएको मानिन सक्ने माओवादीको तर्क थियो।

आक्रोशित माओवादी अध्यक्ष प्रधानमन्त्रीलाई भेटेरै आफ्नो आपत्ती जनाउन सिंहदरबार पुगेका थिए।

वातावरण

तर माओवादीले आपत्ती जनाउनु पर्ने कुनै कुरा अनमिनलाई नलेखिएको प्रधानमन्त्रीका सल्लाहकार भट्टराईले बताए।

लगभग निश्चित भइसकेको अनमिनको बिदाइपछि शान्ति प्रक्रियाको भविष्यकाबारे चिन्ता र चासो बढिरहेका बेला सरकार र मुख्य विपक्षी दलका बीच शंका र अविश्वास गहिरिएको छ।

तीन ठूला दलहरुले यसलाई पुरै हटाउन नसके घटाउन मात्र सके भने पनि त्यसले धमिलिएको वातावरणलाई संग्लो बनाउन मद्दत पुग्ने विश्लेषकहरुको विश्वास छ।