अन्मिनको प्रतिवेदनबारे राष्ट्रपति ‘अत्यन्त गम्भीर’

  • 7 जनवरी 2011
अन्मिनका हतियार निरीक्षकहरु
Image caption म्याद सकिने बेलामा अन्मिन फेरि गम्भीर विवादमा तानिएको छ

राष्ट्रपति डाक्टर रामवरण यादवले शुक्रबार सभामुख र एकीकृत माओवादीका अध्यक्षसँगको भेटमा आफ्नो भूमिकाबारे सुरक्षा परिषदमा दिइएको प्रतिवेदनबाट आफू अत्यन्तै गम्भीर भएको बताएका छन्।

राष्ट्रपतिले नेपालस्थित संयुक्त राष्ट्रसंघीय नियोग अन्मिन प्रमुखले सुरक्षा परिषदलाई भनेजस्तो आफूद्वारा शासन हातमा लिन सक्ने कुनै खतरा नरहेको दोहोर्‍याएका छन्।

सुरक्षा परिषदमा नेपालबारेको प्रतिवेदनमा करेन लनग्रेनले नेपालमा शान्ति प्रक्रिया बिथोलिए सैन्य वा राष्ट्रपति शासनको खतराबारे जनतामाझ त्रास रहेको उल्लेख गरेकी थिइन्।

राष्ट्रपति यादवले बिहिबार प्रधानमन्त्रीसँग गरेको जस्तै दुखेसो शुक्रबार साँझ सभामुख सुवास नेम्वाङ र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग पनि गरेका थिए।

‘अत्यन्त गम्भीर’

नेम्वाङ र प्रचण्डसँग भएका छुट्टा छुट्टै भेटमा राष्ट्रपतिले अन्मिन प्रमुखले सुरक्षा परिषदमा पेश गरेको प्रतिवेदनबाट आफु अत्यन्त गम्भीर भएको बताएका थिए।

त्यसबारे राष्ट्रपतिका प्रेस सल्लाहकार राजेन्द्र दाहालले भने, “राष्ट्रसंघमा राष्ट्रपतिको संस्थालाई जोडेर जे जस्तो प्रतिवेदन पेश गरियो भनेर सञ्चार माध्यमहरुमा आए त्यसबारे सरकारले आवश्यक पाइला चालोस् भन्ने उहाँको भनाइ हो।”

सुरक्षा परिषदमा पेश गरिएको नेपालबारेको प्रतिवेदनमा अन्मिन प्रमुख करेन लनग्रेनले नेपालमा माओवादी नेताहरुबाट विद्रोहको धम्की आइरहेको; राष्ट्रपति वा सैनिक शासनको खतराबारे जनतामा त्रास रहेको र शान्ति प्रक्रियाका अहिले सम्मका उपलब्धि गुम्नसक्ने खतरा कायम रहेको उल्लेख गरेकी थिइन्।

सरकारले पनि अन्मिन प्रमुखका कतिपय भनाइ आपत्तीजनक भएको टिप्पणी गरिसकेको छ।

म्याद सकिंदै

चार वर्ष देखि नेपालको शान्ति प्रक्रियालाई सघाइरहेको अन्मिनको अन्तिम पटक थपिएको कार्यावधि आगामी जनवरी १५ मा सकिंदैछ।

न्यूयोर्कस्थित कूटनीतिज्ञहरुले बीबीसीलाई बताएअनुसार माओवादीले एकतर्फीरुपमा अन्मिनको म्याद थप्नको निम्ति राष्ट्रसंघलाई पत्राचार गरेको भएपनि जनवरी १५ पछि अन्मिनको म्याद नथपिने निश्चितप्राय: छ।

तर अन्मिनको बिदाइपछि माओवादी सेना र हात हतियारको व्यवस्थापन र अनुगमनबारे प्रमुख दलहरुबीच अझै कुनै सहमति बन्न सकेको छैन।