सत्रौं चुनाव पुष २८ गते हुने

  • 9 जनवरी 2011
रामचन्द्र पौडेल
Image caption सोह्र पटकसम्म बहुमत पाउन विफल भएपनि पौडेल अझै चुनावी मैदानमा खडा छन्

दुई महिनाको अन्तरालपछि आईतबार शुरु भएको संसदको नयाँ अधिवेशनले नयाँ प्रधानमन्त्री चयन गर्न सत्रौं पटकको चुनावको लागि पुष २८ गतेको मिति तोकेको छ।

संसदले नयाँ मिति तोकेपनि देशले तुरुन्तै नयाँ प्रधानमन्त्री पाउने छाँट भने अझै देखिएको छैन।

औपचारिकता

आईतबार शुरु भएको अधिवेशनको पहिलो दिन औपचारिकतामै टुंगिएको थियो।

एमालेका सभासद डम्बरबहादुर खड्काको सवारी दुर्घटनामा केही दिन अगाडि निधन भएकोले शोक प्रस्ताव पारित गरेर बैठक सकिएको थियो।

बैठक सक्नु अघि सभामुख सुवास नेम्वाङ्गले प्रधानमन्त्री चुनावको नयाँ मिति तोकेका थिए।

“पौडेलको उम्मेदवारीको प्रस्ताव सत्रौं पटकको चुनावको लागि पुष २८ गते पेश गर्ने गरी तोकेको छु,” नेम्वाङ्गले भने।

उक्त मिति संसद बैठकको ठिक अगाडि बसेको कार्यव्यवस्था समितिको बैठकमा दलहरुको सल्लाह अनुसार तोकिएको थियो।

मिति तोक्न सल्लाह मिलेपनि नयाँ प्रधानमन्त्री छान्न भने दलहरुको कुरा मिलेको छैन।

बेमेल

एक्ला उम्मेदवार नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले बहुमत आफ्नो विपक्षमा भएपनि हालको नियमानुसार उम्मेदवारी कायमनै रहने संकेत दिएका छन्।

पौडेलले उम्मेदवारी फिर्ता नलिए उनको विपक्षमा भोट हाल्ने निर्णय एमालेले गरिसकेको छ।

तर एमालेकै नेता रहेका प्रधानमन्त्री माधवकुमार नेपालले माओवादी र एमालेको मात्र गठबन्धनको सरकार बन्न नसक्ने सार्वजनिक भाषण गरेपछि उक्त पार्टीभित्रको विवाद चुलिएको छ।

आईतबारको लागि बोलाइएको सो पार्टीको केन्द्रिय कमिटिको बैठक पनि स्थगित गरियो।

“पौडेलले उम्मेदवारी फिर्ता लिने नत्र हामीले विपक्षमा भोट हाल्ने निर्णय भएको थियो। तर निर्वाचन पुष २८ गते तोकिएकोले त्यसपछि मात्र उक्त निर्णय कार्यान्वयन हुन सक्छ। नयाँ निर्णय लिने कुरा नभएकोले सो निर्वाचनपछि मात्र अर्को बैठक बस्ने गरी आईतबार स्थगित गरियो,” एमालेका सचिव युवराज ज्ञवालीले भने।

पार्टीहरुबीचको विवाद साम्य भैनसकेकाले चुनावको मिति तोकिएपनि नयाँ प्रधानमन्त्री तुरुन्तै छानिने सम्भावना कम रहेको विश्लेषकहरुको भनाइ छ।

सम्बन्धित समाचार