कांग्रेस नेता पौडेलको उम्मेदवारी फिर्ता

  • 12 जनवरी 2011
constituent assembly nepal
Image caption कांग्रेस नेता पौडेलले उम्मेदवारी फिर्ता लिएपछि नयाँ प्रक्रिया शुरु हुने भएको छ

प्रधानमन्त्रीका एक्ला उम्मेदवार भएपनि बहुमत जुटाउन नसकिरहेका नेपाली काँग्रेसका नेता रामचन्द्र पौडेलले अन्तत: उम्मेदवारी फिर्ता लिएपछि पाँच महिनादेखि जारी रहेको प्रधानमन्त्री चयनको एउटा चरण अन्त्य भएको छ।

यस अघि तटस्थ बस्दै आएको नेकपा एमाले पौडेलको विपक्षमा मत हाल्न ह्वीप जारी गरेपछि पौडेलको उम्मेदवारी अल्पमतमा परी खारेज हुने संभावना थियो।

त्यसैबीच सबैतिरबाट दबाब आएपछि कांग्रेस केन्द्रीय कार्य समितिले अन्तिम घडीमा उनको उम्मेदवारी फिर्ता लिने निर्णय गरेको थियो।

घोषणा

त्यसपछि सभामुखले पाँच महिनादेखि जारी रहेको प्रधानमन्त्री चयन प्रक्रियाको अन्त्य भएको घोषणा गरेका थिए।

सभामुख सुवासचन्द्र नेम्बाङले भने, “प्रधानमन्त्रीका एक्ला उम्मेदवार रहेका रामचन्द्र पौडेलका प्रस्तावक शेरबहादुर देउवाले उम्मेदवारी फिर्ता लिन गरेको प्रस्ताव सर्वसम्मतले पारित भएको छ। अब अहिलेसम्म जारी प्रक्रिया पनि अन्त्य भएको छ।”

बुधबार दिउसोका लागि तय गरिएको प्रधानमन्त्री निर्वाचनमा आफ्नो अल्पमत हुने निश्चित जस्तो देखिएपछि कांग्रेसले आफ्नो केन्द्रीय समितिको बैठक गर्न समय आवश्यक रहेको भन्दै प्रधानमन्त्रीको चुनाव एकदिन सार्न आग्रह गरेको थियो।

तर कांग्रेसको आग्रह एमाले र एकीकृत नेकपा माओवादीले मानेनन्।

त्यसपछि संविधानसभाभित्रै बसेको कांग्रेस केन्द्रीय समितिको आकस्मिक बैठकले पौडेलको उम्मेदवारी फिर्ता लिने निर्णय गरेको थियो।

त्यसपछि रामचन्द्र पौडेलको उम्मेदवारीका प्रस्तावक कांग्रेस नेता शेरबहादुर देउवाले संसदको बैठकमा उम्मेदवारी फिर्ता लिएको औपचारिक घोषणा गरे।

देउवाले भने, “राष्ट्रिय सहमति नभै सरकार पनि नबन्ने र संविधान पनि नबन्ने देखिएकाले हाम्रो पार्टीले रामचन्द्र पौडेलको उम्मेदवारी फिर्ता लिने निर्णय गरेको छ।”

अन्तरिम संविधानमा प्रधानमन्त्री नचुनिएसम्म एउटा प्रक्रिया जारी राख्ने बाहेक अरु प्रावधान छैन।

नयाँ प्रक्रिया

त्यसो त मंगलबार प्रधानमन्त्री चयनको नयाँ प्रक्रिया तय गर्न संविधानसभामा एउटा टोली गठन गरिएको थियो।

उक्त टोलीको काम पछि नयाँ प्रक्रिया शुरु हुनेछ।

पाँच महिना भन्दा अघि देखि शुरु भएको प्रधानमन्त्री चयन प्रक्रियामा शुरुमा तीन प्रमुख पार्टी माओवादी, कांग्रेस र एमाले संसदीय दलका नेताहरु दावेदार थिए।

तर एमाले र माओवादी क्रमश: दौडबाट बाहिरिए पछि अन्त्यमा कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल मात्र कायम रहन पुगेका थिए।

तर सोह्र पटक मतदान हुँदा पनि उनले बहुमत जुटाउन सकेनन्।

आफुहरु प्रतिस्पर्धाबाट बाहिरिएपछि माओवादी र एमालेले कांग्रेस उम्मेदवार पौडेललाई उम्मेदवारी फिर्ता लिएर नयाँ प्रक्रिया शुरु गर्न सघाउन आग्रह गर्दै आएका थिए।

प्रधानमन्त्रीका दावेदारहरु एकपछि अर्को गर्दै सबैजना प्रतिस्पर्धाबाट बाहिरिएपछि अब नेपाली राजनीति नयाँ मोडमा प्रवेश गरेको ठानिएको छ।