आफ्नै नेतृत्वमा सरकार बन्नुपर्ने माओवादी अडान

  • 16 जनवरी 2011
माओवादी अध्यक्ष प्रचण्ड
Image caption माओवादीले प्रचण्डलाई नै प्रधानमन्त्रीको उम्मेदवारको रुपमा अघि सारेको छ

राष्ट्रपति रामवरण यादवले सात दिनभित्र सहमतिको सरकार बनाउन दलहरुलाई आव्हान गरेको भोलिपल्ट, आईतबार, आफ्नै नेतृत्वमा त्यस्तो सरकार बन्नुपर्ने अडान प्रमुख प्रतिपक्षी एकीकृत नेकपा माओवादीले दोहोर्‍याएको छ।

दुई ठूला सत्ताधारी दल नेपाली कांग्रेस र नेकपा एमालेले कम्तिमा लडाकू व्यवस्थापन नभई उसको नेतृत्व नस्वीकार्ने बताएका छन्।

अडिग

राष्ट्रपतिले दिएको सातदिने म्यादको पहिलो दिन वित्दापनि मुख्यदलहरुबीच सहमति निर्माणको परिणाममूलक छलफल भएन।

बरु आईतबार बसेको स्थायी समितिको बैठकपछि प्रतिपक्षी माओवादीले पुरानै अडानमा आफुहरु अडिग रहेको बतायो।

“एकीकृत माओवादीकै नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बन्नु पर्छ र त्यसको निम्ति पहल गर्नुपर्छ भन्ने निर्णय भयो,” माओवादीका प्रवक्ता दिनानाथ शर्माले भने।

राष्ट्रसंघीय निकाय अन्मिन बाहिरिएलगत्तै सेना समायोजन सम्बन्धी विशेष समितिको टोलीलाई उसले गरिआएको काम जिम्मा दिइएकाले अब आफ्नो दलको नेतृत्वमा सरकार गठन गरिए सेना समायोजन र शान्ति प्रक्रिया सहज हुने माओवादीको निर्णय थियो।

“माओवादीकै नेतृत्वमा जनमुक्ति सेनालाई विशेष समितिको मातहत ल्याएर समस्या समाधान गर्ने दायित्व माओवादीको काँधमा छ,” प्रवक्ता शर्माले भने।

‘लचिलो’

तर राष्ट्रिय सहमतिको निम्ति नेतृत्वको विषयमा लचिलो हुन सकिने भन्नपनि उनले छुटाएनन्।

त्यस्तो लचिलोपना माओवादीभित्रकै प्रचण्डबाहेक अन्य नेता छान्ने विषयमा पनि हुन सक्ने उनको संकेत थियो।

“यसमापनि हामी लचिलो छौं। शान्ति र संविधानलाई सुनिश्चित गरेर निकास दिनुपर्छ भनेर अध्यक्ष प्रचण्डले दलहरुसंगको कुराकानी वा सार्वजनिकरुपमा समेत भनिरहनु भएको छ,” शर्माले बताए।

माओवादीको निर्णयपछि नयाँ सरकारको नेतृत्वबारे मुख्य तीन दलहरुबीचको ६ महिना पुरानो विवाद पुरानै विन्दुमा फर्किने ठानिएको छ।