माओवादी विवाद टुंगो लगाउन आपतकालीन बैठक

  • 18 जनवरी 2011
बाबुराम भट्टराई
Image caption प्रशिक्षणमा फरक मत राख्न नदिइ आन्तरिक जनवादमाथि दमन भएको भट्टराईको आरोप छ

एकिकृत नेकपा माओवादीका उपाध्यक्ष बाबुराम भट्टराई पक्षले काठमाण्डूमा भएको पार्टी प्रशिक्षण बहिष्कार गरेपछि चर्किएपछि पोलिटब्युरो र केन्द्रिय समितिको आपतकालीन बैठक बोलाइएको छ।

स्थाई समितिले उक्त विवाद मंगलवार मिलाउन नसकेपछि ती बैठक डाकिएको हो।

विवादकै कारण पोखरा र दाङमा राखिएको प्रशिक्षण स्थगित गरिएको छ।

पोलिटब्युरो सदस्य शक्ति बस्नेतले भने, “बहिष्कार गरेर हिड्नाले राम्रो संस्कारको साटो नकारात्मक परम्पराको थालनी गर्छ।”

सहमति

बहिष्कार गर्नेहरुमाथि कारवाहीको पक्षमा रहेको भनिएका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निकट बस्नेतले बहिष्कार गर्नेहरुको धारणा सुनेपछि त्यसबारे बैठकले निर्णय गर्ने बताए।

पार्टीको तत्कालीन कार्यनीतिले शान्ति र नयाँ संविधानभन्दा जनविद्रोहमा जोड दिएको भन्दै आफूले जनाएको लिखित असहमति प्रशिक्षणमा प्रस्तुत गर्न नदिएपछि उपाध्यक्ष भट्टराई प्रशिक्षणमै गएनन्।

सहभागि उनका समर्थकहरुले बिचमै बहिष्कार गरेका थिए।

तर बस्नेतले आफ्नो अनुपस्थितिमा कार्यक्रम गर्न भट्टराईले सहमति दिएको दावी गरेका छन्।

जनादेश प्रभावित

पछिल्लो विवाद पार्टीको मुखपत्र जनादेश साप्ताहिकलाई पनि प्रभावित पारेको छ।

उपाध्यक्ष भट्टराईको अन्तर्वार्ता छाप्ने विषयको विवादलाई लिएर मंगलवार प्रकाशित उक्त पत्रिकामा प्रधानसम्पादकको नाम छैन।

अन्तर्वार्तामा भट्टराईले ‘आन्तरिक जनवादमाथि दमन भएकाले त्यसको विरोधमा प्रशिक्षण बहिष्कार गरेको’ बताएका छन्।

पत्रिकाले समेत त्यसलाई ‘पार्टी हेडक्वाटरको नोकरशाही कार्यशैली’ को संज्ञा दिएको छ।

त्यो विषयलाई पनि गम्भीर रुपमा लिँदै बैठकमा छलफल गरिने संस्थापन पक्षले जनाएको छ।