माओवादी सेना तथा हतियार शनिबारदेखि विशेष समितिको मातहतमा

  • 19 जनवरी 2011
माओवादी लडाकुहरु
Image caption शनिबारदेखि माओवादी लडाकुहरुको रेखदेखको जिम्मा विशेष समितिले लिने भएको छ

सेना समायोजन विशेष समितिले एकीकृत माओवादीका सेना तथा हतियारलाई आगामी शनिबार आयोजना हुने एक समारोहपछि औपचारिकरुपमा आफ्नो मातहतमा ल्याउने तयारी गरेको छ।

तर सेना तथा हतियार अनुगमन गर्न भनि बनाइएको संयन्त्रबारेको विवाद भने चर्किएको छ।

अनुगमन संयन्त्रमा आफ्नो प्रतिनिधित्व नभएको भन्दै तराईका दलहरुले आपत्ती जनाएका छन्।

बुधबार बसेको सेना समायोजन विशेष समितिको वैठकले आगामी शनिबार चितवनको शक्तिखोरस्थित माओवादी सेनाको शिविरमा एउटा कार्यक्रम गर्दै माओवादी सेना तथा हतियार विशेष समितिको अधीनमा आएको घोषणा गर्ने निर्णय गरेको हो।

राष्ट्रिय झण्डा

शनिबार नै शक्तिखोर शिविरमा फहराइरहेको माओवादी दलको झण्डालाई नेपालको राष्ट्रिय झण्डाले प्रतिस्थापन गर्ने बताइएको छ।

सम्पूर्ण तयारीको निम्ति एउटा तीन सदस्यीय समिति बनाइएको छ।

गत शनिबार कार्यावधि सकिएको राष्ट्रसंघीय नियोग अन्मिनको बिदाइ अघि प्रधानमन्त्री र माओवादी अध्यक्षबीच भएको सहमति अनुसार माओवादी सेना र हतियार अनुगमनको जिम्मेवारी विशेष समितिले आफ्नो काँधमा लिएको हो।

तर सेना तथा हतियार अनुगमनको निम्ति भनि बनाइएको एउटा बहुदलीय संयन्त्रमा तराईका दलहरुको प्रतिनिधित्व नभएको भनी ती दलहरुले असन्तुष्टि जनाएका छन्।

‘आपत्ती’

बुधबारको विशेष समितिको वैठकपछि संवाददाताहरुमाझ सो समितिमा मधेशी जनअधिकार फोरम नेपालका तर्फबाट सहभागी जयप्रकाश गुप्ताले भने, “सो संयन्त्रमा सबैको सहभागिता छ, तर मधेसका दलहरुको छैन त्यसप्रति बैठकमा हाम्रो आपत्ती रह्यो।”

नेपाली कांग्रेसकातर्फबाट विशेष समितिमा रहेका डाक्टर रामशरण महतका अनुसार अनुगमन संयन्त्रमा तराईका दलको सहभागिता गराउन उच्चस्तरमै निर्णय हुनेछ।

“त्यसबारे अब प्रधानमन्त्री र प्रचण्डजीबीच छलफल हुन्छ।”

चुनौती

माघ १ गतेअघिसम्म अन्मिनले गर्दै आएको सेना तथा हतियार अनुगमनको जिम्मेवारी अन्मिनको फिर्तिलगत्तै नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र माओवादी सेना सम्मिलित ६४जनाको टोलीले सम्हालिसकेको छ।

तर १९ हजार माओवादी सेनाको समायोजन र पुन:स्थापना र तिनका हातहतियारको व्यवस्थापन गर्ने कार्यलाई सफलतापूर्वक सम्पन्न गर्ने चुनौती भने दलहरु सामु ज्यूँका त्यूँ नै रहने छ।