प्रधानमन्त्री चुनावको नियम फेर्न प्रमुख दलहरु सहमत

  • 24 जनवरी 2011
कामचलाउ प्रधानमन्त्री माधबकुमार नेपाल
Image caption प्रधानमन्त्री नेपालले राजीनामा दिएको ६ महिनापछि नियमावलीमा संशोधन गरिएको हो

राष्ट्रपतिले राजनैतिक सहमतिको सरकार बनाउन दलहरुलाई थपिदिएको म्याद सकिन दुई दिन बाँकी छदा त्यसबारे ठोस सहमति भएको छैन, तर प्रधानमन्त्रीको आगामी चुनावलाई परिणामविहीन हुन नदिने नयाँ नियमका विषयमा भने सहमति जुटेको छ।

नयाँ नियममा मैदानमा एकमात्र उम्मेदवार भएपनि विश्वासको मत लिनु पर्ने र दुई भन्दा बढी उम्मेदवारहरु भएमा बढीमा तीन पटकसम्म चुनाव गर्ने ब्यवस्था गरिएको छ।

नयाँ नियमलाई ब्यवस्थापिका-संसदले मंगलबार पारित गर्ने अपेक्षा गरिएको छ।

राष्ट्रपतिले दलहरुलाई सहमतिको सरकार बनाउन थपिदिएको पाँच दिनको म्याद बुधबार सकिंनै लाग्दा पनि सहमतीय सरकार बन्ने भरपर्दो लक्षण देखिएको छैन।

‘बहुमत’

तर बहुमतीय आधारमा प्रधानमन्त्री चुन्ने अवस्था आए सो प्रक्रियालाई पहिले जस्तो अनिर्णित रहन नदिने उपायबारे सहमति जुटेको छ।

संसद नियमावली संशोधन गरेको त्रिदलीय संसदीय उपसमितिमा एकीकृत माओवादीका तर्फबाट सामेल सभासद् एकराज भण्डारीका अनुसार प्रधानमन्त्री पदको लागि एक मात्र उम्मेदवार भएपनि उनले संसदमा कायम संख्याको बहुमत पुर्‍याउनु पर्नेछ।

उनले भने, “प्रस्तावहरु तीनचोटि मात्र निर्णयार्थ प्रस्तुत हुने र तटस्थ रहन नपाइने व्यवस्था गरेका छौं।”

नयाँ नियमले प्रधानमन्त्रीको आगामी चुनावलाई पहिले भन्दा सहज बनाउने उनको आशा छ।

‘विश्वस्त’

प्रधानमन्त्रीको चुनावको नियम परिवर्तनबारे सहमति जुटेपछि नेकपा एमालेका प्रमुख सचेतक भीमप्रसाद आचार्यले पनि अब शुरु हुने प्रधानमन्त्रीय चुनावको चरणले देशलाई अन्तत: प्रधानमन्त्री दिइछाड्ने विश्वास व्यक्त गरे।

उनले भने, “यसले अब निकास दिने कुरामा म विश्वस्त छु।”

बुधबारसम्म पनि दलहरुले सहमतीय सरकार गठन गर्न नसके राष्ट्रपतिले बहुमतीय सरकार गठन गर्न व्यवस्थापिका संसदलाई आग्रह गर्ने अपेक्षा गरिएको छ।

राजनैतिक सहमतिको संभावना क्षीण देखिएकोले नयाँ नियम अनुसार नयाँ चरणको प्रधानमन्त्रीको चुनावका लागि अर्को साता सम्म कुर्नु पर्ने सम्भावना बढ्दै छ।