प्रधानमन्त्रीमा माओवादी र कांग्रेसको अडान

  • 25 जनवरी 2011
व्यवस्थापिका संसद भवन
Image caption बुधबार सहमति हुन नसके संसदमा प्रधानमन्त्रीको चुनावी प्रकृया शुरु हुनेछ

एकीकृत नेकपा माओवादी र नेपाली कांग्रेसले प्रधानमन्त्रीमा आ-आफ्नो दावी नछाडेपछि राष्ट्रिय सरकारको निम्ति सहमति जुटाउने प्रयास विफल भएको छ।

मंगलबार कांग्रस र माओवादी तथा एमाले नेतृत्वबीच अलग अलग छलफल भएको थियो।

सहमतिको पाँच दिने म्याद सकिने दिन बुधबार तीनदलको शीर्ष बैठक गर्नु अघि द्विदलीय छलफल गर्ने निर्णय अनुसार ती छलफल भएका हुन्।

शुरुमा गत शुक्रबार प्रधानमन्त्रीको निम्ति सबै विकल्पमा खुला छलफल गर्ने घोषणा गरेका कांग्रेस र एमाले नेतृत्वबीच छलफल भएको थियो।

गैरमाओवादी

छलफलबारे बताउंदै एमाले नेता प्रदीप ज्ञवालीले भने, “शान्ति प्रकृया टुंगिएपछि सत्ता हस्तान्तरण गर्ने गरी गैर माओवादी नेतृत्वको सरकारलाई सघाउन दुबै दलले आग्रह गर्ने कुरा भयो।”

एमालेले माओवादी र कांग्रेसले एक अर्कालाई सघाउन तयार भए आफूले स्वीकार गर्ने पूर्व धारणा पनि बैठकमा राखेको थियो।

त्यसपछि माओवादी नेतृत्वसँगको भलाकुसारीमा जुटेको कांग्रेसले एमालेसँगको सहमति अनुसार नै आफूलाई नेतृत्वको निम्ति सघाउन प्रस्ताव गरेको थियो।

तर आफुहरुले त्यस्तो प्रस्ताव अस्वीकार गरेको माओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ प्रकाशले बताए।

उनले भने, “जनभावना अनुसार हाम्रै पार्टीको नेतृत्वको सरकारको प्रस्ताव राख्यौं। कांग्रेसले आफैले दावी गरेपछि सहमति हुन सकेन।”

समय अभावका कारण भन्दै माओवादी र एमालेबीचको छलफल भने स्थगित गरिएको थियो।

अन्यौल

सहमतिको सम्भावना कमजोर बन्दै गएको देखिए पनि बुधबार अन्तिम प्रयासबाट सकारात्मक परिणाम हात लाग्छ कि भन्ने आशा भने नेताहरुले मारिसकेका छैनन्।

तर बुधबार पनि सहमति हुन नसके संसदमा प्रधानमन्त्रीको चुनावी प्रकृया शुरु हुनेछ।

तीन ठूला दलभित्रका अलग-अलग खेमाले अर्कै दलको विपरित खेमासँग ध्रुवीकरणको प्रयास गरिरहेकाले भावी सरकारबारे अन्यौल बढेको कतिपयको बुझाइ छ।

प्रधानमन्त्रीको चुनावी प्रकृयामा जानु परेमा आफै उम्मेदवारी दिने कि कांग्रेस, एमाले वा अन्य कसैलाई सघाउने भन्ने बारे निर्णय नलिइसकेको माओवादी नेता प्रकाशले बताए।

माओवादी मात्रको समर्थनमा एमालेले सरकारको नेतृत्व पाउने सम्भावनाबारे पनि व्यापक चर्चा चलिरहेको छ।

तर एमाले नेता ज्ञवालीले त्यसो हुँदा मुलुकको राजनीतिलाई निकै ध्रुवीकरणमा लग्ने र त्यो ध्रुवीकरणको पक्षमा आफ्नो दल नभएको जनाउँदै उक्त सम्भावना कमजोर रहेको बताए।