चक्रिय प्रणालीमा जाने सहमति: खनाल

  • 26 जनवरी 2011
व्यवस्थापिका संसद
Image caption सहमति नभएकाले बुधवारदेखि संसदमा प्रधानमन्त्री चुनावको प्रकृया शुरु हुनेछ

नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले तीन ठूला दलले आलोपालो सरकारको नेतृत्व गर्ने प्रकृयामा जाने करीब करीब निश्चित भएको बताएका छन्।

सहमतिको खोजी गर्न एउटै थलोमा जम्मा भएका तीन ठूल दलका शीर्ष नेताहरु दुई पक्षीय बैठकमा पनि निकै व्यस्त रहेका थिए।

संयुक्त रुपमा सार्वजनिक गर्ने गरी सहमतिमा पुग्न भने उनीहरु विफल भए।

पहिले माओवादी

तर अध्यक्ष खनालले भने, “सहमतिका साथ चक्रिय प्रणालीमै जाने भयौं। सरकारको नेतृत्व नेकपा माओवादीले पहिले गर्न सक्छ। त्यसपछिको नेतृत्वबारे एकदुई दिनमा निष्कर्षमा पुग्छौं।”

उनले शान्ति प्रकृया टुंग्याउने चरणवद्ध खाका माओवादीले पेश गरेपछि आफ्नो दलसँगै नेपाली कांग्रेस पनि उसको नेतृत्व स्वीकार्न तयार रहेको दावी गरे।

खनालले भने, “सबैभन्दा पहिले आफ्नै नेतृत्वमा भन्ने अडान कांग्रेसले पनि छाड्यो।”तर बैठकमा सहभागी कांग्रेस नेता डा.रामशरण महतले खनालको भनाइको खण्डन गरेका छन्।

शर्त

उनले भने, “शान्ति प्रकृया टुंग्याउने खाका तयार गरी उसका लडाकूहरुको समायोजन र पुनर्स्थापनाको प्रकृया शुरु नहुँदासम्म माओवादीको नेतृत्व स्वीकार नगर्ने अडानमा हाम्रो पार्टी कायमै छ।”

तर त्यो भएमा माओवादीको नेतृत्व स्वीकार्न आफूहरु तयार रहेको उनको भनाई थियो।

राष्ट्रिय सहमतिको सरकार बनाउन दलहरुको आग्रह अनुसार राष्ट्रपतिले थपेको पाँच दिने म्याद बुधवार सकिएको छ।

म्याद सकिएपछि पनि सहमति जुटाउन दलहरु सफल भएमा संसदमा शुरु हुने बहुमतिय प्रकृयाबाटै राष्ट्रिय सरकार गठन गर्नु पर्नेछ।