बहुमतबाट प्रधानमन्त्री चुन्न २० गते चुनाव

  • 27 जनवरी 2011
व्यवस्थापिका-संसद
Image caption सोह्र चोटिको मतदान विफल भएपछि संसदले नयाँ चुनावी कार्यक्रम अर्को सातालाई तोकेको छ

सहमतिको निम्ति राष्ट्रपतिले दिएको समयसीमा त्यत्तिकै सकिएपछि सभामुख सुवास नेम्वाङ्गले बहुमतीय पद्धतीबाट प्रधानमन्त्री चुन्न माघ २० गतेको मिति तोकेका छन्।

दलहरुले नयाँ सरकारको नेतृत्वमा सहमति जुटाउन नसकेपछि, सभामुखले बहुमतबाट प्रधानमन्त्री छान्ने प्रक्रिया एकसातापछि थालिने जानकारी दिएका हुन्।

मुख्य दलहरुबीचको वार्ताहरु भने खासगरी सेना समायोजनको विषयमा उत्पन्न विवादका कारण लगातार विफल भएका छन्

फरक कुरा

मुख्य दलबीच आलोपालो प्रधानमन्त्री बाँड्ने चक्रिय प्रणालीमा जाने करीब करीब सहमति भइसकेको एमालेका अध्यक्ष झलनाथ खनालले बुधबार बीबीसीलाई बताएका थिए।

तर विहिबार बसेको बैठकमा चक्रिय प्रणालीका बारे कुरा नभएको नेपाली कांग्रेसका एकजना नेताले बताए।

डा रामशरण महतका अनुसार पहिले सेना समायोजनको प्रक्रिया नथालिएसम्म माओवादीसंग कुरा मिल्न सक्दैन।

“चक्रिय प्रणालीको बारेमा विहिबार कुराकानी भएन। मूल कुरा समायोजन र पुनर्स्थापन शुरु हुन पर्‍यो। शिविरमा वेग्लै सेना हुञ्जेल शान्ति प्रक्रिया अघि बढ्दैन। समायोजनको प्रक्रिया शुरु हुन पर्‍यो। छुट्टाछुट्टै शिविरमा लडाकूहरुलाई राखेर प्रहरीमा, सेनामा जान थालेपछि विश्वसनीय आधार बन्छ,” डा महतले भने।

नयाँ चुनाव

त्यही विश्वसनीय आधार तयार नभएकोले विहिबार संसदले बहुमतीय प्रणालीबाट प्रधानमन्त्री छान्ने निर्वाचन कार्यक्रम सार्वजनिक गर्‍यो।

“कार्य व्यवस्था परामर्श समितिको सुझावमा सभामुख सुवास नेम्वाङ्गद्वारा यही माघ २० गते प्रधानमन्त्री चुनावको मिति तोकिएको छ,” संसद सचिवालयका प्रवक्ता मुकुन्द शर्माले बताए।

परिवर्तित नियमावली बमोजिम बहुमतीय प्रणालीबाट तीन चोटिसम्म प्रधानमन्त्री‌ नछानिए सबै प्रक्रिया पुन: शुरु गर्नुपर्छ।

कार्य व्यवस्था परामर्श समितिले सभामुखलाई दिएको सुझाव अनुसार २० गतेको चुनाव सार्थक नभए २२ र त्यो पनि नभए २३ गतेको लागि अर्को चुनाव तोकिनेछ।

तर कम्तीमा दुई ठूला दलबीच कुरा नमिलेसम्म बहुमतीय प्रणालीले समेत परिणाम दिने छाँट छैन।