सरकारको नेतृत्वको लागि शर्त अमान्य: माओवादी

  • 28 जनवरी 2011
माओवादी नेताहरु
Image caption सरकार गठनका लागि कुनै शर्त मान्य नहुने माओवादीले जनाएको छ

सरकारमा आफ्नो नेतृत्वको लागि अन्य दलका कुनै पनि शर्त अमान्य हुने विपक्षी एकीकृत नेकपा माओवादीले निर्णय गरेको छ।

सरकारमा आफ्नो नेतृत्वको दावी सही रहेको भन्दै माओवादीले त्यसबारे अरु दलको कुनै पनि शर्त भने अमान्य हुने निर्णय गरेको छ।

खासगरी सेना समायोजन र शान्ति प्रक्रियाका थाँती रहेका विषय अघि बढाउन तुरुन्तै विश्वसनीय प्रक्रिया नथालेसम्म माओवादीको नेतृत्व आफुहरुलाई अस्वीकार्य भएको सत्ताधारी दलहरुको भनाइपछि माओवादीले पछिल्लो निर्णय गरेको हो।

उसको यो निर्णयले सहमतिको सरकार बन्ने सम्भावना झन क्षीण भएको देखिएको छ।

अमान्य

शुक्रबार बसेको माओवादीको स्थायी समितिको बैठकले अरु दलको शर्त मानेर सरकारको नेतृत्व स्वीकार्न नसकिने निर्णय गरेको थियो।

“हाम्रो पार्टीले सरकारको नेतृत्व लिनुपर्छ भन्ने दावी सही रहेको निर्णय भएको छ। तर नेपाली कांग्रेस र एमालेले जुन शर्त अगाडि सारेका छन् ती हामीलाई मान्य छैनन्,” माओवादीका सचिव सी पी गजुरेलले बताए।

विशेष गरी नेपाली कांग्रेसले सेना समायोजनको प्रक्रिया थालनी भएपछिमात्र माओवादीको नेतृत्व स्वीकार्य हुनसक्ने बताएको थियो।

माओवादीले सो विषय छलफल गर्न आफु तयार भएपनि त्यसैलाई शर्त मानेर सरकारको बागडोर सम्हाल्न नसकिने निर्णय गर्‍यो।

“त्यो अलग विषय हो। त्यसमा छलफल गर्न हामी तयारै छौं। तर सहमतिको सरकार बनाउने छलफलमा यसलाई शर्त बनाइन्छ भने त्यो हामीलाई मञ्जुर छैन,” नेता गजुरेलले भने।

आन्तरिक मुद्दा

शुक्रबारको बैठकमा माओवादीभित्र केही समय यता चर्किएको भनिएको आन्तरिक विवादको एउटा मुद्दामा समेत कुराकानी भएको थियो।

उपाध्यक्ष डा बाबुराम भट्टराईले जनविद्रोह सम्बन्धी पार्टीको आधिकारिक लाईनप्रतिको उनको फरकमत राख्न नपाएको भन्दै केही समय अघि राजधानीमा भएको पार्टीको प्रशिक्षण कार्यक्रममा भाग लिएका थिएनन्।

लगत्तै देशभरीकै प्रशिक्षण कार्यक्रम स्थगित गरिएको थियो।

ती कार्यक्रम अब नयाँ प्रधानमन्त्री चयन गर्ने कामको टुंगो लागेपछिमात्र शुरु गरिने स्थायी समितिले निर्णय गरेको छ।

तर सहमतिमा प्रधानमन्त्रीको विषय टुंगो लगाउने प्रयास भने माओवादीको पछिल्लो निर्णयपछि थप अलपत्र पर्ने ठानिएको छ।