कार्यदलको प्रतिवेदनमा सहमति जुटेन

  • 29 जनवरी 2011
नेपाली कांग्रेसका नेताहरु
Image caption सेना समायोजनको मुद्दा नसुल्झिएसम्म माओवादीको नेतृत्व नमान्ने नेपाली कांग्रेस र एमालेका नेताहरुको अडान छ

सेना समायोजन लगायतको मुद्दा सुल्झाउन गठित कार्यदलको प्रतिवेदनमाथि शीर्ष नेताहरुबीच भएको छलफलले शनिबार कुनै परिणाम दिएन।

सेना समायोजनको विषयसंगै शक्ति बाँडफाँडको मुद्दा जोडिएकोले यसमा कुनै निश्कर्ष ननिस्किएसम्म नयाँ प्रधानमन्त्री चयन गर्ने सहमतिको प्रयासपनि प्रभावित बनेको छ।

तारन्तार विफल

माओवादी, कांग्रेस र एमाले तीन दलका शीर्ष नेताहरुलाई सेना समायोजनका जटिल मुद्दा सुल्झाउन गाह्रो भएपछि केही दिन अगाडि गठित कार्यदलले आफ्नो प्रतिवेदन बनाएको थियो।

विषयवस्तु नखुलाइएको उक्त प्रतिवेदन शनिबार शीर्ष नेताहरुसमक्ष प्रस्तुत गरिएको थियो।

तर परिणाम निस्किएन।

बैठकपछि सम्वाददाताहरुसंग बोल्दै कार्यदलका सदस्य तथा माओवादी नेता बर्षमान पुन अनन्तले भने, “कार्यदलले तयार पारेको सहमतिहरुका आधारमा निश्कर्षमा पुग्न अझै प्रयत्न गर्ने भनेर बैठक टुंगिएको छ।”

आफुहरुले तयार पारेको प्रतिवेदनले सेना समायोजन लगायत शान्ति प्रक्रियाका सबै मूल मुद्दाहरु समेटिएको कार्यदलका सदस्यहरुको भनाई छ।

सहमतिको प्रयास पटकैपिच्छे विफल भइरहनु जत्ति अचम्मलाग्दो छ, त्यत्तिकै अनौठो परिणाम ननिस्किएसम्म गरिनुपर्ने अटुट छलफल गर्न पट्टि नेताहरुको उदासीनता छ।

शनिबार केही घण्टा बसेको बैठक विफल भएपछि अर्को बैठक सोमबारको निम्ति तोकिनुले त्यही उदासीनता दर्शाएको कतिपय विश्लेषकहरुको भनाई छ।