प्रधानमन्त्रीको चुनावमा चार उम्मेदवार

  • 2 फेब्रुअरी 2011
प्रधानमन्त्री कार्यालय सिंहदरवार
Image caption महिनौं लामो प्रयासबाट प्रधानमन्त्री नछानिएपछि फेरी बिहिवार संसदमा मतदान हुँदैछ

बिहीबार मतदान हुने प्रधानमन्त्रीको चुनावी मैदानमा सबै भन्दा ठूला चारवटा पार्टीका संसदीय दलका नेताहरु उत्रिएका छन्।

यसअघि बारम्बार भएको चुनावले प्रधानमन्त्री छान्न नसकेपछि शुरु भएको नयाँ प्रकृया अन्तर्गत चारैजनाले बुधवार उम्मेदवारी दर्ता गरेका छन्।

नयाँ

नयाँ चुनावमा नयाँ अनुहारको रुपमा मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार थपिएका छन्।

अन्य तीन प्रतिस्पर्धीमा अघिल्लो चुनावमा सहभागी भइसकेका एकिकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेल र नेकपा एमालेका अध्यक्ष झलनाथ खनाल छन्।

संविधान लेखन र शान्ति प्रकृया टुंग्याउन राष्ट्रिय सहमतिको सरकार अनिवार्य रहेको भन्दै सहमतिको खोजिमा महिनौं बिताउँदा पनि सहमति हुन नसकेपछि उनीहरु बहुमतीय चुनावमा होमिएका हुन्।

अन्यौल

बिहीवार हुने मतदानबाट प्रधानमन्त्री बन्न संसदको बहुमत पाउनु पर्छ।

तर चारैजना उम्मेदवारको पक्षमा स्पष्ट बहुमत नदेखिदा भावी प्रधानमन्त्रीबारे अन्यौल छ।

कसैले बहुमत नपाएमा चारैजनाबीच दोश्रो पटक फेरि मतदान गराइने छ।

संसद सचिवालयका प्रवक्ता मुकुन्दप्रसाद शर्माका अनुसार कार्यव्यवस्था परामर्श समितिले दोश्रो मतदान शनिवार गराउन सभामुखलाई सुझाव दिएका छन्।

कसैले उम्मेदवारी फिर्ता लिइ अर्कोलाई नसघाउँदासम्म दोश्रो मतदानबाट पनि प्रधानमन्त्री छानिने सम्भावना अत्यन्त झिनो देखिन्छ।

त्यसैले दोश्रो प्रयास पनि विफल भएमा कम भोट पाउने दुई जना बाहिरिने छन्।

प्रवक्ता शर्मा भन्छन्, “त्यसपछि तेश्रो पटक बढी भोट ल्याउने दुई जनाबीच मतदान गराइन्छ। कसैले बहुमत ल्याएमा उसैलाई प्रधानमन्त्रीमा निर्वाचित भएको घोषणा गरिन्छ। नसके उक्त प्रकृया रद्द गरी नयाँ प्रकृया शुरु गरिने छ।”

दुईजनाबीच आइतवार मतदान गराउने सहमति छ।

सम्भावना

प्रतिस्पर्धीहरु मध्ये चुनाव जित्ने बलियो स्थितिमा माओवादी अध्यक्ष प्रचण्ड मात्र छन्।

तर गच्छदारको उम्मेदवारीले त्यो सम्भावनालाई कमजोर तुल्याएको देखिन्छ।

सबैभन्दा ठूलो दलका अध्यक्ष भएकाले प्रचण्ड दुई जनाबीच मात्र प्रतिस्पर्धा गराइने मतदानमा रहने निश्चित छ।

दोश्रो हुने उम्मेदवारबारे स्पष्ट छैन्।

तेश्रो मतदान भएमा दोश्रो उम्मेदवारले जित्ने सम्भावना पनि ब्युँतिने देखिन्छ।

त्यसबेला प्रतिस्पर्धाबाट बाहिरिने दुई र तराई केन्द्रित अन्य दलको भूमिका महत्वपूर्ण हुनेछ।