मन्त्री पद बाँडफाँड गर्न कार्यदल गठन

  • 5 फेब्रुअरी 2011
प्रधानमन्त्री झलनाथ खनाल तस्वीर कपीराइट AFP
Image caption एमाले अध्यक्ष समेत रहेका खनालले आईतबार शपथ लिने भएका छन्

आईतबार शपथ ग्रहणसंगै सार्वजनिक गर्ने ठानिएको मन्त्रिपरिषदमा जिम्मेवारी बाँडफाँड र सरकारको नीतिको खाका तय गर्ने जिम्मासहित नवनिर्वाचित प्रधानमन्त्री झलनाथ खनाल र माओवादी अध्यक्ष प्रचण्डले दुई दलीय कार्यदल गठन गरेका छन्।

साझा कार्यक्रम

शनिबार दिउँसो नवनिर्वाचित प्रधानमन्त्री खनाल र माओवादी अध्यक्ष प्रचण्डबीच भएको भेटवार्तापछि मन्त्रिपरिषदको अनुहार केही प्रष्ट हुने ठानिएको थियो।

तर नेताहरुले त्यसको जिम्मा कार्यदललाई दिए।

कार्यदलले शनिबार साँझ प्रारम्भिक छलफल थाल्यो।

“साझा न्यूनतम कार्यक्रमको खाका बनाउने र मन्त्रालयको बाँडफाँडको खाका दुई दलका अध्यक्षलाई बुझाउने कुरा भएको छ। शनिबार प्रारम्भिक छलफल भयो। आईतबार बिहान फेरि छलफल हुन्छ,” कार्यदलका सदस्य तथा माओवादीका नेता देव गुरुङ्गले बताए।

नवनिर्वाचित प्रधानमन्त्रीले राष्ट्रपतिबाट आईतबार शपथ लिने कार्यक्रम छ।

लगत्तै मन्त्रिपरिषदका केही सदस्यहरुले समेत शपथ लिने ठानिएपनि त्यसको टुंगो आईतबारमात्रै लाग्ने गुरुङ्गले बताए।

“एमालेका नेताहरुले बाँडफाँडको टुंगो लागिनसकेको बताए। त्यसैले आईतबार प्रधानमन्त्रीले शपथ लिंदा खेरि नै अन्य मन्त्रीलेपनि लिन्छन् भन्ने अझै यकीन छैन,” गुरुङ्गले भने।

गुरुङ्गका अनुसार सरकारको नयाँ साझा नीतिका साथै नयाँ बजेटको निर्माणबारे विज्ञहरुसंग सरसल्लाह गर्न पनि दुई दल सहमत भएका छन्।