माओवादीद्वारा सरकारमा नजाने निर्णय

  • 10 फेब्रुअरी 2011
प्रधानमन्त्री झलनाथ खनाल तस्वीर कपीराइट BBC World Service
Image caption माओवादीले नमानेपछि प्रधानमन्त्रीले आफ्नो पार्टीका तीनजनालाई मन्त्री बनाएका छन्

एकिकृत नेकपा माओवादीले आफैले बनाइदिएको नेकपा एमालेको नेतृत्वको सरकारमा सहभागि नहुने निर्णय गरेको छ।

सरकारप्रतिको समर्थन कायमै राखेर माओवादीले कुरा मिलेपछि सरकारमा सहभागि हुने बाटो भने खुलानै राखेको छ।

संसदमा बोल्दै माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ प्रकाशले भने, “सरकार गठनको आधार बनेको सात बुँदे सहमतिमा नै एमाले दृढ नरहेपछि हामीले बाध्य भएर सरकारमा नजाने निर्णय गरेका छौं।”

तीन मन्त्री

मन्त्रालय बाँडफाँडबारे दुई दलबीच बिहिवार भएको वार्ता पनि विफल भएपछि माओवादी नेतृत्व सरकारमा सहभागि नहुने निर्णय सुनाएर प्रधानमन्त्री निवास वालुवाटारमा बाहिरिएको थियो।

माओवादीको उक्त निर्णयपछि प्रधानमन्त्री खनालले आफ्नो दलले सिफारिस गरेका भरतमोहन अधिकारीलाई उपप्रधान तथा विष्णु पौडेल र गंगालाल तुलाधरलाई मन्त्री बनाएर सानो मन्त्रिमण्डल बनाएका छन्।

सहमतिको सम्भावना खुला राखेरै हुनसक्छ तीनै जनालाई कुनै मन्त्रालयको जिम्मेवारी दिइएको छैन्।

मन्त्रिपरिषदको पहिलो बैठक गरेर संसदमा सम्वोधन गर्न पुगेका प्रधानमन्त्री खनालले सरकारलाई राष्ट्रिय सहमतिको रुप दिन प्रयत्न गर्ने वचनवद्धता जनाएका थिए।

चेतावनी

तर संसदमा प्रधानमन्त्रीको रुपमा खनालको पहिलो सम्वोधनमा अनुपस्थित भई माओवादी अध्यक्ष प्रचण्डले सरकारप्रति सांकेतिक असन्तुष्टी दर्शाए।

पार्टी नेतृत्वको त्यो असन्तुष्टी व्यक्त गर्ने जिम्मा पाएका नेता प्रकाशले सरकारलाई कडा चेतावनी दिएका थिए।

उनले भने, “अब ढलिमलि गर्न पाइयो भनेर नसोचियोस। हामीले जुन षड्यन्त्रलाई भत्काएर सरकार बनाउन सफल भयौं, त्यही षडयन्त्रको गोटी बनेको अनुभूति भयो भने हाम्रो पार्टी कठोर निर्णय लिन बाध्य हुनेछ।”

त्यही संसदमा प्रधानमन्त्रीमा पराजित नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले पनि आफ्नो दल प्रतिपक्षमा बस्ने जानकारी दिएका थिए।

तर शान्ति प्रकृया र संविधान लेखनमा सरकारलाई सघाउने वचन दिन भने उनी चुकेनन्।

सात बुँदे सहमति गर्दा एमालेले आफूलाई गृहमन्त्रालय दिने सहमति दिएको दावी गर्दै माओवादीले अहिले भने त्यो सहमतिबाट एमाले पछि हटेको आरोप लगाएको छ।