माओवादीलाई गृह दिनुपर्छ: वामदेव गौतम

  • 11 फेब्रुअरी 2011
एमाले उपाध्यक्ष वामदेव गौतम तस्वीर कपीराइट .
Image caption प्रधानमन्त्री निकट उपाध्यक्ष गौतम सात बुँदे सहमति बनाउन क्रियाशील थिए

नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले एकिकृत नेकपा माओवादीलाई गृह मन्त्रालय दिएर सत्ता गठबन्धन जोगाउने धारणा व्यक्त गरेका छन्।

सात बुँदे सहमतिप्रति एमालेले प्रतिवद्धता नजनाउँदासम्म सरकारमा सहभागि नहुने माओवादीको निर्णय लगत्तै गौमतले त्यस्तो प्रतिकृया दिएका हुन्।

गृह मन्त्रालय नपाएपछि सरकारमा नजाने भनि गरेको अघिल्लो निर्णय माओवादी स्थाई समितिको बैठकले शुक्रवार अनुमोदन गरेको छ।

दावी सत्य

मन्त्रालय बाँडफाँड समेत समेटिएको सात बुँदे सहमतिबारे एमालेले आधिकारिक धारणा सार्वजनिक नगर्दासम्म सरकारलाई बाहिरबाटै समर्थन गर्ने उसको निर्णय छ।

माओवादीको पछिल्लो अडानपछि बीबीसीसँग कुरा गर्दै एमाले नेता गौतमले भने, “माओवादीलाई गृह मन्त्रालय दिएर यो गठबन्धन बचाउनु पर्छ।”

सात बुँदे सहमति गर्दा आफ्नो दललाई गृह मन्त्रालय दिन एमाले राजी भएको दावी माओवादी नेताहरुले गरिरहेका छन्।

सहमति मस्यौदा लेखनमा समेत सरिक एमाले उपाध्यक्ष बामदेव गौतमले त्यो दावी सत्य नजिक रहेको स्वीकार गर्दै भने, “हो मैले पनि त्यस्तै बुझेको थिए। त्यसमा मैले पनि सहमति जनाएको थिए।”

छिट्टै

प्रधामन्त्री निर्वाचन सकिएपछि एमालेले गृह लगायत सुरक्षासँग सम्बन्धित मन्त्रालय आफैले राख्ने निर्णय गरेको छ।

उक्त निर्णय उल्टाएर माओवादीसँगको सहकार्य जोगाउने नेता गौतमको भनाई छ।

उनले भने, “त्यो निर्णय सच्याएर हामीले छिट्टै माओवादी सहितको संयुक्त सरकार बनाउँछौं।”

तर एमालेभित्र प्रभावशाली मनिने नेताद्वय माधवकुमार नेपाल र केपी ओलीको समूह सात बुँदे सहमतिलाई त्रुटिपूर्ण मनिरहेको छ।

त्यो परिमार्जन गर्नु पर्ने धारणा राख्दै आएको उक्त समूह सुरक्षा मामिलासँग सरोकार राख्ने मन्त्रालय माओवादीलाई दिन नहुने अडानमा दृढ देखिन्छ।