मुबारकको राजीनामापछि इजिप्टमा हर्षोल्लास

  • 12 फेब्रुअरी 2011
होस्नी मुबारक तस्वीर कपीराइट AFP
Image caption मुबारकले इजिप्टमा करीब तीस वर्षसम्म एकछत्र शासन गरेका थिए

राष्ट्रपति मुबारकले शुक्रबार राती सत्ता छाडेपछि खासगरी कायरोको तहरीर स्क्वायर क्षेत्रमा मानिसहरुले खुशीयाली मनाएका छन्।

मुबारकले छाडेपछि रक्षा मन्त्रीले नेतृत्व गरेको सैन्य फौजको उच्च कमाण्डले शासनको बाग्डोर सम्हालेको छ।

उत्सव

शुक्रबार रातीदेखिनै कायरोको तहरीर स्क्वायर क्षेत्रमा भव्य खुशीको वातावरण छाएको थियो।

नाचगान, आतिशबाजी गर्नुका साथै मानिसहरुले आफ्ना गाडिका हर्नहरु बजाएर राजनीतिक परिवर्तनको स्वागत गरेका थिए।

शनिबार बिहानदेखि विस्तारै मानिसहरु त्यहाँबाट फर्कन थाले। आफ्ना झोला टुम्बा र उक्त क्षेत्रमा स्थापित पालहरु उनीहरुले झिके।

एउटा उत्सवकै वातावरणमा उनीहरुले स्क्वायरका फोहरहरु सफा गरेका थिए।

तर पनि त्यहाँ अझै केही प्रदर्शनकारीहरुले खुशीयालीपूर्ण नाराबाजी गर्न छाडेका थिएनन्।

उक्त स्क्वायरको केही ठाउँहरुमा कतिपय प्रदर्शनकारीहरुले अझै आफ्नो संघर्ष नसिद्धिएको भन्दै सेनाले शासनसत्ता नागरिकमा हस्तान्तरण गर्नुपर्ने माग गरिरहेका छन्।

एकजना प्रदर्शनकारीले भने, “यो शासनसत्ता हटाउनु हाम्रो एउटा माग पूरा हुनु मात्र हो। अझै हाम्रा ६ वटा मागहरु पूरा भएका छैनन्। नागरिक सरकार र सम्पूर्ण शासन प्रणालीको परिवर्तन हुनु जरुरी छ। मुबारक जाँदैमा कथाको अन्त्य हुँदैन। उनको शासन प्रणालीले जताततै जरा गाडेको छ। हामीलाई गएको तीस वर्षदेखि क्यान्सर लागेको थियो।”

प्रेरणादायी

जनवरी २५ मा शुरु भएका प्रदर्शनहरु, देशभर फैलिएको बेरोजगारी, गरीबी र भ्रष्टाचारबाट आजित मानिसहरुले गरेका थिए।

आफ्नो राजीनामाको घोषणा हुनुभन्दा केही अगाडि होस्नी मुबारक कायरो छाडेर रेड सी अर्थात लाल सागरको तटमा रहेको शार्म अल शेखतिर लागेका थिए जहाँ उनको निवास छ।

अमेरिकि राष्ट्रपति बाराक ओबामाले इजिप्टको घटनाक्रमलाई प्रेरणादायी भनेका छन्।

तर उनले इजिप्ट अब नागरिक र प्रजातान्त्रिक शासन प्रणालीतर्फ उन्मुख हुनुपर्ने बताए।

विपक्षी नेता मोहम्मद अल बारादेईले आफ्नो जीवनको सबैभन्दा उत्तम दिन आएको प्रतिक्रिया दिएका छन्।

शुक्रबार राती मुबारकले सत्ता छाडेर शासन सेनालाई सुम्पेको घोषणा उपराष्ट्रपति ओमार सुलेमानले गरेका थिए।

राज्य नियन्त्रित टेलिभिजन च्यानलमा बोल्दै उनले शासनको बाग्डोर सेनाका वरिष्ठ जर्नेलहरु सम्मिलित र रक्षा मन्त्रीको नेतृत्वमा रहेको एउटा उच्च निकायले सम्हालेको बताए।

मुबारकको राजीनामा लगत्तै टेलिभिजनमा बोल्दै सेनाका एकजना प्रवक्ताले भनेका छन् मानिसहरुलाई स्वीकार्य वैधानिक सरकारको विकल्पमा सेनाले काम गर्ने छैन।

सेनाले आफ्ना आगामी कदमहरुको तयारी गरिरहेको र छिट्टै तिनको घोषणा हुने उनले बताए।