‘प्रधानमन्त्रीले छिट्टै निर्णय लिने’

  • 14 फेब्रुअरी 2011
प्रधानमन्त्री झलनाथ खनाल तस्वीर कपीराइट BBC World Service
Image caption प्रधानमन्त्री खनाल आफ्नै दल र माओवादीको परस्पर विरोधी चेपुवामा छन्

प्रधानमन्त्री झलनाथ खनालले एक-दुई दिनभित्र पनि सहमति हुन नसके मन्त्रिमण्डल विस्तारको निम्ति निर्णायक कदम चाल्ने उनी निकट नेताहरुले जनाएका छन्।

शान्ति प्रकृया र संविधान लेखनको समय घर्किदै गए पनि मन्त्रालय बाँडफाँडमा सहमति जुटाउन नसकेर प्रधानमन्त्री खनालले मन्त्रिपरिषद विस्तार गर्न सकिरहेका छैनन्।

उनी निकट केन्द्रिय सदस्य योगेश भट्टराईले भने, “सम्भवत: मंगलवारसम्ममा मन्त्रालय भागवण्डा र सात बुँदे सहमति थप प्रष्ट पार्नेबारे अन्तिम टुंगोमा पुगेर अगाडी बढ्छौं।”

मनस्थिति

प्रधानमन्त्री निकट नेताहरुका अनुसार उनी सकेसम्म आफ्नै विश्वासपात्र नेतालाई गृहमन्त्री बनाउने प्रस्तावमा माओवादीलाई मनाउने प्रयास गर्नेछन्।

केही सीप नलागे प्रधानमन्त्री माओवादीलाई गृह दिएरै मन्त्रिपरिषद विस्तार गर्ने मनस्थितिमा पुगेको उनीहरुको भनाई छ।

उनी निकट केन्द्रिय सदस्य योगेश भट्टराईले त्यो कुरा स्वीकार नगरेपनि प्रधानमन्त्रीको मनस्थितिको छनक दिँदै भने, “एउटा मन्त्रालयकै कारण गठबन्धन तोड्न हुन्न भन्ने हाम्रो सोंचाई छ।”

माओवादीले सात बुँदे सहमतिकै अंग भएको भन्दै गृह मन्त्रालयमा आफ्नो अडान छाडिसकेको छैन।

उक्त दलका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ प्रकाशले भने, “सहमतिकै अंग भएकाले पनि र हामीले प्रधानमन्त्रीमा समर्थन गरेकाले गृह मन्त्रालयमा हाम्रो दावी स्वाभाविकै हो।”

चेपुवा

माओवादीलाई गृह मन्त्रालय नदिन नेपाली कांग्रेस लगायत अन्य प्रतिपक्षि दलहरुले आवाज उठाइरहेका छन्।

आफ्नै दलका प्रभावशाली नेताहरुको चर्को दबाबका कारण प्रधानमन्त्री खनाल थप चेपुवामा परेका हुन्।

एमालेका वरिष्ठ नेताहरु माधवकुमार नेपाल र केपी शर्मा ओलीको समूहले गृह माओवादीलाई नदिन प्रधानमन्त्रीमाथि दबाब बढाइहेको बताइएको छ।

उक्त समूहले सोमबारपनि नवनियुक्त प्रधानमन्त्री खनाललाई भेटेको थियो।