मन्त्रिपरिषद विस्तार फेरि अन्यौलमा

  • 16 फेब्रुअरी 2011
माओवादी अध्यक्ष प्रचण्ड
Image caption प्रचण्डले आफ्नो पार्टीले गृह मन्त्रालय पाउने सहमति भैसकेको दोहो-याएका छन्

एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो दल गृह मन्त्रालय सहित मन्त्रिमण्डलमा सामेल हुने सहमति भएको बताएका छन्।

प्रधानमन्त्री एवं एमालेका अध्यक्ष झलनाथ खनालसंग बुधबार बिहान भएको वार्तामा उक्त सहमति भएको उनको दावी छ।

पार्टी काममा पोखरा गएका प्रचण्डले पत्रकारहरुसंग कुरा गर्दै त्यस्तो दावी गरेका हुन्।

आशंका

तर नेकपा एमालेका एकजना वरिष्ठ नेताले त्यस्तो सहमति भएको कुरा अस्वीकार गरे।

प्रधानमन्त्री निकट मानिने एमाले सचिव युवराज ज्ञवालीले भने, “माओवादीलाई एघारवटा मन्त्रालय दिने सहमति भए पनि गृह मन्त्रालयको टुंगो लागिसकेको छैन।”

गृह मन्त्रालयबारे गठबन्धनका दुई दलका नेताहरुको धारणा नै बाझेपछि बिहिबार हुने भनिएको मन्त्रिमण्डल विस्तारप्रति अन्यौल र आशंका थपिएको ठानिएको छ।

एमाले सचिव ज्ञवालीका अनुसार गृह मन्त्रालयबारे पार्टी स्थायी कमिटीले बिहिबार निर्णय गर्ने छ।

यसअघि एमाले स्थायी कमिटीले गृहमा विष्णु पौडेल सहित तीनजनालाई मन्त्रीमा सिफारिस गरेको थियो।

पुरानो अडान

एमालेले पुरानो निर्णय फेरेको छैन।

त्यसबारे ध्यानाकर्षण गराउँदा स्थायी कमिटीको उक्त निर्णय लेखेका सचिव युवराज ज्ञवालीले भने, “त्यो निर्णय कायमै रहन पनि सक्छ। फेरिन पनि सक्छ।”

तर गृह आफैले राख्ने एमालेको निर्णयकै कारण माओवादीले तत्काल सरकारमा नजाने निर्णय लिएको थियो।

एघारजना स्थायी कमिटी सदस्यहरुमा माओवादीलाई गृह मन्त्रालय दिन नचाहनेहरुकै बहुमत देखिएकाले एमाले पुरानै अडानमा कायमै रहने अनुमान गरिएको छ।

त्यसैले गृह मन्त्रालय नपाए सरकारमा जान माओवादी तयार नभए मन्त्रिपरिषद विस्तारमा थप अडचन उत्पन्न हुने सम्भावना बलियो बनेको छ।

एमालेले त्यसो गरेमा त्यो माओवादी र एमाले अध्यक्षले गरेको सात बुँदे सहमति भत्काउने कदम हुने माओवादी ‌उपाध्यक्ष नारायणकाजी श्रेष्ठले चेतावनी दिएका छन्।