एमालेको अडानपछि प्रधानमन्त्री मन्त्रिपरिषद विस्तार गर्न विफल

  • 17 फेब्रुअरी 2011
माओवादी अध्यक्ष प्रचण्ड
Image caption माओवादी अध्यक्ष प्रचण्डले गृह मन्त्रालय दिन प्रधानमन्त्री सहमत भएको बताएका थिए

नेकपा एमालेको अडानका कारण सरकारमा एकिकृत नेकपा माओवादीलाई भित्र्याउने प्रधानमन्त्रीको योजना विहिवार विफल भएको छ।

माओवादीलाई गृह मन्त्रालय नदिने पार्टीको निर्णय परिवर्तन गराउन नसकेपछि प्रधानमन्त्रीको योजना सफल हुन नसकेको हो।

बैठकपछि सचिव शंकर पोखरेलले भने, “गृह मन्त्रालय एमालेले नै राख्ने पार्टीको निर्णय कायमै छ।”

माओवादी अध्यक्ष प्रचण्डले गृह मन्त्रालय सहित आफ्नो दल सरकारमा सहभागि हुने कुरामा प्रधानमन्त्रीसँग सहमति भएको सार्वजनिक रुपमा बुधवार बताएका थिए।

तर विहिवारै बसेको माओवादी स्थाई समितिले तत्काल सरकारमा नगई सरकारलाई समर्थन जारी राख्ने निर्णय गरेको छ।

विवाद

स्थाई कमिटीमा चर्को विवाद उत्पन्न भएपछि एमालेले अध्यक्ष तथा प्रधानमन्त्री खनालको अध्यक्षतामा अन्य दलहरुसँग वार्ता गर्न कमिटी गठन गरेको छ।

समितिमा अन्य सदस्य माधवकुमार नेपाल, केपी शर्मा ओली र इश्वर पोखरेल माओवादीलाई गृह मन्त्रालय दिन नहुने पक्षमा छन्।

तर प्रधानमन्त्री निकट सचिव युवराज ज्ञवालीले भने, “वार्ता समिति पनि निर्णयमा पुग्न सकेन भने एउटा निश्कर्षमा पुग्नै पर्छ, विस्तारमा अब ढिलाई गर्नु हुन्न।”

समितिले विवाद टुंग्याउन नसक्ने सम्भावना नभएकैले हुनसक्छ एमालेले आउँदो हप्ता पोलिटब्युरो र केन्द्रिय कमिटीको बैठक पनि डाकेको छ।

ती कमिटीहरुमा आआफ्नो समूहको बहुमत रहेको दुवै पक्षका नेताहरुले दावी गर्दै आएका छन्।

एमालेभित्रको विवादका कारण शान्ति प्रकृया र संविधान लेखनको निम्ति बाँकी रहेको अन्त्यन्तै कम समय त्यसै खेर गइरहेको छ भने सत्ता गठबन्धन नै धरापमा पर्न थालेको देखिएको छ।