भावी संसद दुई सदनात्मक

  • 1 मार्च 2011
माओवादी अध्यक्ष प्रचण्ड
Image caption माओवादी अध्यक्ष संसद दुई सदनात्मक बनाउन सहमत भएका थिए

संविधान लेखनका मतभेद सुल्झाउन गठित एउटा उप समितिमा नेपालको भावी संसद दुई सदनात्मक बनाउन सहमति बनेको छ।

यसअघि संविधानसभाका अधिकांश दल दुई सदनात्मक र एकीकृत नेकपा माओवादी भने एक सदनात्मक संसदको पक्षधर रहँदै आएका थिए।

संबैधानिक मूल समिति अन्तर्गतको उपसमितिका संयोजक बनेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उनको पार्टीको अडान त्यागेपछि भावी संसद दुई सदनात्मक बन्ने सहमति बनेको थियो।

प्रतिनिधित्व

प्रतिनिधि सभा र राष्ट्रिय सभाका रुपमा दुई सदन बनाउने तय भएपनि तिनमा कसरी प्रतिनिधित्व गराउने भन्नेबारे आगामी बैठकहरुमा निश्चित गरिने बताइएको छ।

संविधानसभाका नेपाली कांग्रेस, नेकपा एमाले, तराईकेन्द्रित लगायत अधिकांश दल दुई सदनात्मक संसदको पक्षधर रहेपनि माओवादीले निरन्तर एक सदनात्मक संसदको अडान राख्दै आएको थियो।

उप समितिका एकजना आमन्त्रित सदस्य डा प्रकाशचन्द्र लोहनीले भने, “संघीय राज्य हुने भएपछि दुई सदनात्मक सदन नै ठीक हुन्छ भन्ने उपस्थित सबैको रायमा माओवादी लचिलो भएपछि यो निर्णय भएको हो।”

टुंगो

दुई सदनात्मक संसद बन्ने सहमति भएपछि सदन कस्तो बन्ने भन्नेसँग सम्बन्धित कम्तिमा पनि बीसवटा जति विवादास्पद मुद्दाको टुंगो लागेको छ।

संविधानसभाको संबैधानिक समितिका सभापति निलाम्बर आचार्यले भने, “एक सदनात्मक संसदसँग सम्बन्धित २२ वटा प्रश्न थिए, ति त त्यसै गइगए।”

२०४६ साल यता नेपालमा राष्ट्रिय सभा र प्रतिनिधि सभा गरी दुई सदनात्मक संसदको अनुभव छ।

देशको कार्यकारी को हुने, संघीयता कस्तो हुने जस्ता मुख्य विषयमा भने दलहरुबीच तीब्र मतभेद कायमै छ।