कृष्णप्रसाद भट्टराई, एक सम्झना

  • 5 मार्च 2011
कृष्णप्रसाद भट्टराई तस्वीर कपीराइट BBC World Service
Image caption शान्ति र प्रजातन्त्रप्रतिको निष्ठा र स्वच्छ छविका लागि भट्टराईलाई धेरैले सम्झन्छन्

हँसिलो मिजास, ठट्यौलो पारा र बाँचुञ्जेल नछुटेको पानको शौक – आफ्ना नजिकका मानिसहरुले किशुनजी भनेर पुकार्ने नेता कृष्णप्रसाद भट्टराईका यी गुण अब सम्झनामा मात्र रहनेछ।

लामो समयसम्म नेपाली कांग्रेसमा संगसंगै काम गरेका र पटक पटक प्रधानमन्त्री बनेका गिरिजाप्रसाद कोइरालाको निधन भएको एक वर्ष नपुग्दै नेता भट्टराईको देहावसान भयो।

अपुरो चाहना

करीब दुई महिना अगाडि आफ्नो जन्मदिन भव्यसंग मनाएका भट्टराईले त्यतिखेर आफु सय वर्ष बाँच्न चाहेको बताएका थिए।

नेता भट्टराईले फरासिलो शैलीमा आफ्नो चाहना व्यक्त गरेको सय दिनपनि नबित्दै उनको निधन भयो।

पन्ध्र सालमा ३४ वर्षकै उमेरमा प्रथम जननिर्वाचित संसदको सभामुख बनेका भट्टराईले २०४६ सालमा पञ्चायत ढलेर बहुदल आएपछि अन्तरिम सरकारका प्रधानमन्त्रीको कठिन जिम्मेवारी सम्हालेका थिए।

उनकै पालामा २०४७ सालको संविधान आयो जसले त्यतिबेलाका शक्तिशाली राजालाई संवैधानिक दायरामा ल्यायो।

निष्ठा र छवि

प्रजातन्त्रप्रतिको निष्ठाबाट टसको मस नभइ अनुपम उदाहरण बन्न पुगेका थोरै नेताहरुमध्येका एक भट्टराईको अर्को सम्झनलायक विशेषता भने दुई पटक प्रधानमन्त्री बनेपनि बेदाग रहनसक्नुनै हो।

अन्तरिम सरकारका शक्तिशाली प्रधानमन्त्री रहँदारहँदै काठमाण्डौंबाट चुनाव हारेपछि उनले एउटा ट्याङ्का, सुराही र छाता बोकेर बालुवाटार छाडेको धेरैले अझै सम्झन्छन्।

उनको ईमानदारीको प्रसंग चल्दा धेरैले सम्झने कुरा केपनि छ भने पार्टीको कोष हेर्ने जिम्मा पाएका बेला उनले आफ्नै पकेटको खर्चसमेत हिसाबकिताब गर्थे।

आलोचकहरुले भने उनलाई सांगठनिक नेतृत्व गर्न कमजोर र आसेपासेमा बढी निर्भर नेताको रुपमा औंल्याउने गर्छन्।

हाकाहाकी गणतन्त्रको विरोध गरेका कारण कतिले उनको उछित्तो काढे।

तर अन्तिम समयसम्मपनि उनलाई सम्मान गर्न राजतन्त्रवादी देखि लिएर कट्टर गणतन्त्रवादीहरुसमेत पछि परेनन्।

त्यसको एउटै कारण उनमा रहेको नैतिक राजनीतिको बल रहेको धेरैको ठम्याई छ।

खासगरी २००७ सालपछि संधै शान्तिपूर्ण आन्दोलनको वकालत गरेका उनले जेलनेल पाएपनि स्वदेशमै बसेर लड्न रुचाए।

माफी नमागेको कारण सक्रिय राजतन्त्रको पञ्चायत कालमा १४ वर्षसम्म जेल बसेका भट्टराईले पछिल्लो समयमा गणतन्त्रको विरोधगर्ने लहरमा आफुलाई दृढतापूर्वक उभ्याए।

पार्टी त्याग

आफैंले स्थापना गरेको पार्टी नेपाली कांग्रेसले संवैधानिक राजतन्त्रको मान्यता त्यागेर गणतन्त्रलाई समाएपछि उनले पार्टीनै त्यागिदिए।

अविवाहित नेता भट्टराईले पछिल्लो कालमा लगभग एक्लो जीवन विताए।

वर्षौंसम्म एउटै पार्टीमा रहेर काम गरेको गिरिजाप्रसाद कोइरालासंग प्रजातन्त्रको पुनर्स्थापनापछिका समयमा उनको बेमेल बढ्यो।

आफुप्रति अन्तर्घात भएको महसुस गरेका भट्टराई बिस्तारै कोइरालासंग टाढिदै गए जुन क्रम वर्षदिन अगाडि कोइरालाको निधन हुनुअघिसम्म जारी नै थियो।

पार्टी, कार्यकर्ता र साथीसंगीबाट टाढिएर धर्मकर्मप्रति नजिकिएका भट्टराईलाई निकट सहयोगी अमिता कपालीले भने अन्तिम घडीसम्म हेरचाह गरेकि थिइन्।

नेता भट्टराईको अवसानले वर्तमान राजनीतिलाई वा उनले स्थापना गरेको पार्टी नेपाली कांग्रेसलाई खासै प्रभाव नपार्ला तर त्यसले नैतिकता र निष्ठाको राजनीतिमा एउटा पुर्नै नसकिने रित्तोपना छाड्ने निश्चित छ।