पूर्वप्रधानमन्त्री भट्टराईको निधन

  • 5 मार्च 2011
भट्टराईलाई अन्तिम श्रद्धान्जली तस्वीर कपीराइट BBC World Service
Image caption कांग्रेस सभापति सुशील कोइरालाले भट्टराईको शवलाई अफ्नो पार्टीको झण्डा ओढाइदिए

भूतपूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका संस्थापक नेता कृष्णप्रसाद भट्टराईको निधनमा सरकारले राष्ट्रिय शोकको घोषणा गरेको छ।

दुई सातादेखि बिरामी रहेका उनको उपचारका क्रममा काठमाण्डूस्थित अस्पतालमा देहावसान भएको हो।

नेपाली कांग्रेसका संस्थापक नेता भट्टराई ८७ वर्षका थिए।

असफल

नर्भिक अस्पतालमा सघन उपचार कक्षमा राखेर उनको उपचार गरिएको थियो।

तर मुटु, मस्तिष्क, फोक्सो र मृगौलाले काम गर्न नसकेपछि उनलाई बचाउन डाक्टरहरुले दुई सातासम्म गरेको प्रयास मध्यरातमा असफल हुन पुग्यो।

रातीनै शव ललितपुरस्थित उनको आश्रममा लगिएको थियो।

शनिबार बिहान प्रधानमन्त्री, भूतपूर्व प्रधानमन्त्री लगायत वरिष्ठ नेता तथा कार्यकर्ताहरु उनलाई श्रद्धान्जली दिन पुगेका थिए।

श्रद्धान्जलीका निम्ति आइतबार बिहान ८ बजेदेखि १० बजेसम्म उनको पार्थिव शरीर नेपाली कांग्रेस पार्टी कार्यालयमा र २ बजेसम्म दशरथ रंगशालामा राखेर दिउँसो अन्त्येष्टि गरिने बताइएको छ।

कांग्रेसले आफ्ना संस्थापक नेताको निधनमा १३ दिन शोक मनाउने निर्णय गरेको छ।

उनको निधनमा सरकारले एक दिने राष्ट्रिय शोकको घोषणा गर्दै आइतबार सार्वजनिक विदा दिने निर्णय गरेको छ। साथै तीन दिनसम्म राष्ट्रिय झण्डा आधा झुकाइने मन्त्री परिषदको शनिबार बसेको बैठकले निर्णय गर्‍यो।

विना शर्त

२०१५ सालमा सभामुख बनेका नेता भट्टराई २०१७ सालमा राजा महेन्द्रले सत्ता हातमा लिएपछि जेल परेका थिए।

कागज गरेर धेरै नेता कार्यकर्ता जेल मुक्त भए पनि त्यसो गर्न नमान्दा उनले अरु भन्दा बढी जेल जीवन बिताउनु परेको थियो।

जेलबाट छुटेपछि आफ्नै दलका वरिष्ठ नेताहरु भारत प्रवासमा गए।

तर पछि विना शर्त रिहा गरिएका भट्टराईले देश छाड्न मानेनन्।

देशमै रहेर राजनीतिमा क्रियाशील बनिरहे।

जिम्मेवारी

उनी २०४६ सालको जनआन्दोलनको सफलतापछि बनेको अन्तरिम सरकारका प्रधानमन्त्री थिए।

उनकै नेतृत्वको सरकारले २०४७ सालको संविधान जारी गराइ २०४८ सालमा आम निर्वाचन गराएको थियो।

तर भट्टराई आफै उक्त चुनावमा पराजित भएका थिए।

२०५६ सालको आम चुनावबाट संसदमा निर्वाचित भएपछि उनी फेरि प्रधानमन्त्री बने तर आफ्नै दलभित्रको दबाबमा राजीनामा गर्न वाध्य भएका थिए।

२०५९ सालमा पार्टी फुटेपछि उनी राजनीतिबाट करीब अलग नै रहे।

अडान

२०६४ सालमा एकीकरण सभामा पुगेका उनले त्यसपछि पार्टीले गणतन्त्रमा जाने निर्णय लिएपछि तुरुन्तै पार्टी त्यागेका थिए।

नेपालमा संवैधानिक राजतन्त्रको खाँचो औंल्याउँदै आएका उनी जीवनको अन्तिम समयसम्म पनि त्यसमै अडिग थिए।

हाँसो ठट्टा गर्ने रसिक स्वभावका उनी अविवाहित थिए।

किशुनजीको रुपमा परिचित भट्टराईलाई धेरैले ‘सन्त नेता’ पनि भन्ने गरेका थिए।