‘मन्त्रिपरिषदमा जानेबारे सरकार-फोरम नजिक’

  • 8 मार्च 2011
प्रधानमन्त्री झलनाथ खनाल तस्वीर कपीराइट BBC World Service
Image caption खनालले पहिलो पटक गर्न लागेको विशेष समितिको बैठक महत्वपूर्ण हुने ठानिएको छ

प्रधानमन्त्रीका प्रतिनिधिसँग भएको वार्तापछि आफ्नो दल सरकारमा सहभागि हुने परिस्थिति अनुकुल बनेको मधेसी जनअधिकार फोरम नेपालका एकजना नेताले बताएका छन्।

सरकारमा सहभागि हुन आफ्नो पार्टीले राखेको सर्तप्रति सरकारको तर्फबाट प्रतिवद्धता प्रकट भएकाले त्यस्तो स्थिति बनेको फोरमका केन्द्रिय सदस्य मोहम्मद इस्तियाक राईको भनाई छ।

प्रतिवद्धता

प्रधानमन्त्री झलनाथ खनालले बनाएको एउटा कार्यदलले माओवादी-एमाले गठबन्धनभित्र भित्र्याउन फोरमका प्रतिनिधिहरुसँग मंगलवार साँझ अवेरसम्म प्रधानमन्त्री निवास वालुवाटारमा छलफल गरेको थियो।

उक्त छलफलमा सरिक फोरम नेता राईले भने, “मधेश, शान्ति प्रकृया र संविधान लेखनबारे हाम्रो पार्टीले राखेको प्रस्तावमा सरकारको तर्फबाट प्रतिवद्धता आएको छ।”

विगतका सरकारले फोरम र तराई केन्द्रित दलहरुसँग गरेका सहमति लागु गर्न पनि सरकारले वचनवद्धता जनाएको बताउँदै उनले आफ्नो दल सरकारमा सहभागि हुने अनुकुल परिस्थिति बनेको प्रतिकृया दिए।

दुई दलीय कार्यदल स्तरमा सकारात्मक भएको भनिएको उक्त सहमतिबारे फोरमभित्र छलफल गरी आधिकारीक निर्णय लिइने उनको भनाई थियो।

उक्त सहमति फोरमले अनुमोदन गरेपछि औपचारिक रुपमा उ सरकारमा जाने बाटो खुला हुनेछ।

बैठक

कार्यदलको बैठक हुनु अघि माओवादी अध्यक्ष प्रचण्ड र फोरम अध्यक्ष उपेन्द्र यादवबीच छलफल भएको थियो।

उक्त भेटपछि यादवले कार्यदलबीच हुने सहमतिले नै पार्टी सरकारमा जाने वा नजाने कुरा निर्धारण गर्ने प्रतिकृया बीबीसीलाइ दिएका थिए।

प्रचण्डले विहान प्रधानमन्त्री खनालसँग पनि वार्ता गरेका थिए।

उक्त वार्ताबारे प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले भने, “शान्ति प्रकृयालाई गति दिने विषयमा वार्ता केन्द्रित थियो। त्यसका निम्ति विशेष समितिको बैठक बिहिवार गर्ने निर्णय भएको छ।”

मन्त्रिमण्डललाई पूर्णता दिन नसके पनि प्रधानमन्त्री खनालले उक्त बैठकबाट माओवादी लडाकूको समायोजनबारे चाल्ने कदमले उनका सामू रहेका चुनौति सामना गर्न कति सक्षम हुनेछन् भन्ने संकेत दिने ठानिएको छ।