रक्षा मन्त्रीद्वारा नेपाली सेनाको उच्च प्रशंसा

  • 9 मार्च 2011
रक्षा मन्त्री विष्णु पौडेल सेनापतिका साथ तस्वीर कपीराइट BBC World Service
Image caption रक्षा मन्त्री पौडेलले सेनाले प्रत्येक राजनीतिक परिवर्तन स्वीकार गरेको बताए

गृहमन्त्री बनाइने भनी प्रचार गरिएका नेकपा एमालेका सचिव विष्णु पौडेलले रक्षा मन्त्रालयको जिम्मेवारी सम्हाल्दै नेपाली सेनाको खुलेरै प्रशंसा गरेका छन्।

विना विभागीय मन्त्रीको रुपमा एक महिना भन्दा बढी समय बिताएपछि उनलाई दुई दिनअघि प्रधामन्त्रीले उक्त जिम्मेवारी दिएका थिए।

पार्टीभित्रकै अन्य प्रभावशाली नेताहरुले त्यो अभिभारा नलिन दबाब दिइरहेको भन्ने खवरहरुका माझ पौडेलले रक्षा मन्त्रालयको जिम्मेवारी सम्हालेका हुन्।

प्रशंसायुक्त निर्देशन

नवनियुक्त रक्षामन्त्री पौडेलले पद बहाली पछि प्रधानसेनापति र मन्त्रालयका कर्मचारीहरुलाई निर्देशन दिने क्रममा नेपाली सेनालाई राष्ट्रको गौरवको रुपमा चित्रित गरेका थिए।

राष्ट्रिय स्वतन्त्रता, अखण्डता र राष्ट्रको सर्वोपरि हितमा सेनाले महत्वपूर्ण भूमिका निर्वाह गरेको उनको मूल्याङ्कन थियो।

उनले खासगरी माओवादीबाट आलोचना खेप्दै आएको नेपाली सेनालाई व्यावसायिक संगठनको रुपमा प्रस्तुत गरे।

सेनाले विगतका ठूल्ठूला राजनीतिक परिवर्तनलाई आत्मसात गरेको अनुभूति सुनाउँदै उनले भने, “२०६२/६३ सालको जनआन्दोलनमा जनधनको कम क्षति हुनुमा सेनाको दूरदर्शिता पनि एउटा प्रमुख कारण थियो।”

फरक मत

सेनाको प्रशस्त बखान गरेका मन्त्री पौडेलले विस्तृत शान्ति सम्झौताको दायराभित्र रहेर सेनाले भूमिका निर्वाह गर्ने निर्देशनात्मक अपेक्षा पनि व्यक्त गरेका थिए।

उनको त्यो धारणा सेनालाई व्यारेकभित्र सीमित पार्ने विस्तृत शान्ति सम्झौताको प्रावधान संशोधन गर्नु पर्ने आफ्ना पूर्ववर्ती विद्या भण्डारीको भन्दा फरक मत थियो।

भण्डारीले माओवादी लडाकूको सामूहिक समायोजनको सम्भावना अस्वीकार गर्दै आएकी थिइन्।

दुरुस्तै त्यस्तै टिप्पणी न गरे पनि भण्डारीले आफ्नो भनाइको आधार बनाउने गरेको विगतका सहमति र सम्झौताहरु अनुसारै समायोजन हुने धारणा पौडेलको पनि थियो।

उनले भने, “मूल रुपमा अन्तरिम संविधान र शान्ति सम्झौता अनुसार दलहरुबीचको सहमति अनुसार विशेष समिति मार्फत शान्ति प्रकृयाको टुंगो लगाइने छ।”

विगतका सम्झौताहरुमा सम्भावित समायोजनमा जान चाहनेले सुरक्षा अंगका प्रचलित मापदण्ड पुरा गर्नु पर्ने उल्लेख छ।

समायोजन प्रकृयालाई अगाडी बढाउन बिहिवार सेना समायोजन विशेष समितिको बैठक बस्दैछ।

शान्ति मन्त्री वर्षमान पुन अनन्तका अनुसार सकेसम्म उक्त बैठकमै समायोजनको कार्यतालिका प्रस्तुत हुने छ।