जेलभित्र गोली प्रहार घटनाबारे न्यायिक छानबीन गरिने

  • 13 मार्च 2011
प्रधानमन्त्री झलनाथ खनाल
Image caption गृह मन्त्रालय समेत हेरेका प्रधानमन्त्री खनालले संसदमा सुरक्षा बारे बोलेका थिए

प्रधानमन्त्री झलनाथ खनालले केन्द्रिय कारागारभित्रै एकजना बन्दीमाथि गोली प्रहार गरिएको घटनाले उब्जाएको समग्र सुरक्षा प्रणालीका बारेको चिन्ता सम्बोधन गर्न सिफारिससहित प्रतिवेदन दिन छिट्टै एउटा न्यायिक छानबीन आयोग गठन गर्ने जनाएका छन्।

जेलमा रहेका सञ्चार उद्यमी युनुस अन्सारीमाथि गरिएको गोली प्रहारको घटनामा संलग्नहरुलाई नछाडिने उनले बताए।

संसदमा जवाफ

राजधानीस्थित केन्द्रिय कारागारभित्रै एकजना भारतीय आक्रमणकारीले हतियार लिएर गएको विषयमा चौतर्फि आलोचना भएपछि गृह मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री खनालले आईतबार संसदमा त्यसबारे जवाफ दिएका थिए।

“आपराधिक क्रियाकलापमा संलग्नको खोजी गरी तत्काल न्यायको कठघरामा उभ्याउन कुनै कसर बाँकी नराख्ने निर्देशन दिएको छु,” उनले भने।

उक्त आक्रमणकारी भारतीय गुप्तचर निकायको आदेशमा परिचालित भनेर कतिपय समाचारहरुले उल्लेख गरेका थिए।

आक्रमणमा घाईते अन्सारी स्वयंले घटनामा भारतीय राजदूतावास नजिकका मानिसहरु संलग्न रहेको प्रतिक्रिया दिएका थिए।

आईतबार संसदमा बोल्ने क्रममा प्रधानमन्त्री खनालले त्यसबारे त केही भनेनन् तर उनले घटना सङ्क्रमणकालीन राजनीतिको फाइदा उठाउने मनसायले गराइएको उल्लेख गरे।

खासगरी भारतीय जाली नोटको कारोबारको आरोपमा अन्सारी एक वर्षभन्दा बढी समयदेखि जेलमै छन्।

बिहिबारको गोलीप्रहारपछि अस्पताल भर्ना भएका अन्सारी अहिले कडा सुरक्षाका बीच जेलमै फर्किसकेका छन्।

अर्का सञ्चार उद्यमी जमीम शाहको दिनदहाडै राजधानीमा गोली हानी हत्या गरिएको एक वर्षमै अन्सारीमाथि आक्रमण भएको हो।