भ्रष्टाचारको कसुरमा सजायँ सुनाइएका पूर्वमन्त्री वाग्ले पक्राउ

  • 17 मार्च 2011
चिरन्जिवी वाग्ले तस्वीर कपीराइट Other
Image caption श्रोत नखुलेको सम्पत्ती राखे वापत वाग्लेविरुद्ध भ्रष्टाचारको अभियोग लागेको थियो

सर्वोच्च अदालतले नेपाली कांग्रेसका नेता तथा पूर्व मन्त्री चिरन्जिवी वाग्लेलाई भ्रष्टाचारको कसुरमा डेढ वर्ष कैद, दुई करोड रुपैंया भन्दा बढि जरिवाना तथा त्यति नै विगो असुली गर्ने फैसला सुनाएको भोलीपल्ट बिहिबार वाग्लेलाई कारागार चलान गरिएको छ।

सर्वोच्चको पत्र बिहिबार काठमाण्डू जिल्ला अदालत पुगे लगत्तै वाग्लेलाई पक्राउ गरिएको थियो।

वाग्ले सहित कैयौ अन्य पूर्वमन्त्री तथा वरिष्ठ सरकारी अधिकारी विरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त सूर्यनाथ उपाध्यायले भ्रष्टाचार विरुद्धको अभियानलाई अझ सशक्त बनाउने हो भने पदाधिकारीविहिन अख्तियारमा तुरुन्त नियुक्तीहरु गरिनु पर्नेमा जोड दिएका छन्।

जिल्ला अदालत लैजानु अघि आफ्नो निवास बाहिर पत्रकारहरुलाई प्रतिक्रिया दिंदै वाग्लेले आफूमाथि अन्याय भएको बताउँदै आउदा दिनमा सबै तहमा सबैखाले भ्रष्टाचारको छानविन हुने आशा व्यक्त गरे।

मुद्दाहरु

भ्रष्टाचार नियन्त्रण गर्ने संवैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगले केहि वर्ष अघि वाग्ले र अन्य कैयौ पूर्वमन्त्री र सरकारी अधिकारीहरु विरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको थियो।

त्यतीबेला नेतृत्वदायी भूमिका खेलेका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त सूर्यनाथ उपाध्यायले सर्वोच्चको फैसलाको स्वागत गर्दै अख्तियारमा तत्काल आयुक्तहरु नियुक्त हुन सके भ्रष्टाचार विरुद्धको अभियानले गति लिने बताए।

“दुई, तीन वर्ष देखि कर्मचारीले मात्रै अख्तियार चलाइरहेको अवस्थाको अन्त्य हुनुपर्छ; त्याहाँ आयुक्तहरु नियुक्त हुनुपर्छ।”

पूर्व प्रमुख आयुक्त उपाध्यायका विचारमा राजनीतिक नेतृत्वले “उत्तरदायित्व निर्वाह नगरेर गैरजिम्मेवार” भएकोले भ्रष्टाचार विरुद्धको अभियान ओझेलमा परेको हो।

अख्तियारले हालैका वर्षहरुमा दायर गरेका भ्रष्टाचारको अभियोगका कैयौ मुद्दाहरु अहिले पनि सर्वोच्च अदालतमा विचाराधीन छन्।

विचाराधीन

पूर्व मन्त्रीहरु खुमबहादुर खड्का, गोविन्दराज जोशी र जयप्रकाश गुप्ता विरुद्धका मुद्दाहरु विचाराधीन छन्।

सर्वोच्च अदालतका सहायक प्रवक्ता हेमन्त रावलका अनुसार त्यस्ता मुद्दाहरुको छिनोफानो गर्न सर्वोच्चमा हालै गठन गरिएको एउटा छुट्टै विभाग लागि परिरहेको छ।

पूर्व मन्त्रीहरुका अतिरिक्त पूर्व सचिव, पूर्व प्रहरी प्रमुख सहित कैयौ वरिष्ठ सरकारी अधिकारीहरु विरुद्धका मुद्दाहरु पनि सर्वोच्चमा विचाराधीन छन्।

ती मध्ये कतिपयको सुनुवाइ चलिरहेको छ।

भ्रष्टाचार विरोधी संस्था ट्रान्सप्यारेन्सी इन्टरनेसनलका अनुसार नेपाल संसारका सबै भन्दा बढी भ्रष्टाचार हुने देशहरु मध्येको एक हो।